एनपीएल भोलिदेखि सुरु हुँदै, उद्घाटन खेलमा विराटनगर किंसले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्ने

मंसिर १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनपीएल भोलिदेखि सुरु हुँदै, उद्घाटन खेलमा विराटनगर किंसले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करण भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिताको अघिल्लो दिन आज आठ वटै फ्रेन्चाइज टिमका कप्तानले एनपीएल नेपाली क्रिकेटको नयाँ सुरुवात भएको प्रतिक्रिया दिए ।

कीर्तिपुरस्थित टियु मैदानमा गरिएको पत्रकार सम्मेलनमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले इन्डियन प्रिमियर लिगले भारतीय क्रिकेटलाई सहयोग पुर्‍या जस्तै एनपीएल पनि नेपालको राष्ट्रिय टिम निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले उत्साहित रहेको भन्दै राम्रो तयारी गरेको बताए । काठमान्डु गुर्खाजले पनि सन्तुलित टिम रहेको बताएको छ ।

कर्णाली याक्सका सोमपाल कामी, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र चितवन राइनोजका कुशल मल्लले आफ्नै देशमा स्तरिय लिग खेल्न पाउनु गर्वको विषय भएको उल्लेख गरे ।

उद्घाटन खेलमा भोलि विराटनगर किंस र जनकपुर बोल्टस आमने-सामने हुँदैछन् । जनकपुरले भने मार्की आशिफ शेख भए पनि अनिल साहलाई कप्तान बनाएको छ ।

टियु क्रिकेट मैदानमा उद्घान खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ । क्यानले आजै एनपीएलको मस्कट हिउ चितुवा पनि सार्वजनिक गरेको छ । मस्कटको नाम जित राखिएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलको तयारी ९९ प्रतिशत पूरा भएको पनि जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.