एसीसी पुरुष यू-१९ एसिया कप : नेपालले भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

मंसिर १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी पुरुष यू-१९ एसिया कप : नेपालले भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एसीसी पुरुष अन्डर-नाइन्टिन एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । यूएईको शारजाह क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुने छ । दुवै टोली जित हात पार्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा हुने छन् ।

प्रतियोगिताको अन्तिम तयारी स्वरुप हेमन्त धामीको कप्तानीमा नेपालले भारतको प्रादेशिक टोली कर्नाटकसँग पाँच खेलको एकदिवसीय अभ्यास सिरिज खेलेको थियो । सो सिरिज ३-२ ले जितेको नेपाली टोली उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउँदै छ । टेस्ट राष्ट्र श्रीलंकाको अन्डर-१९ टोली १० मध्ये ५ पटक फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको छैन ।

बलियो टोली श्रीलंकालाई हराउन नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ । हालसम्म ८ पटक एसिया कप खेलिसकेको नेपालको अन्डर-नाइन्टिन टोली १ पटक मात्र २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो । पहिलो पटक नेपालको उमेर समूहको टोलीलाई सम्हालिरहेका शक्ति गौचनको प्रशिक्षणबाट क्रिकेट प्रशंसकले ठूलो अपेक्षा राखेका छन् । नेपाली युवा टोलीले हालसम्म श्रीलंकाविरुद्ध जित हात पार्न सकेको छैन ।

सन् २०१६ एसियाकपमा नेपालले श्रीलंकालाई पराजित गर्ने राम्रो अवसर गुमाएको थियो । उक्त खेलमा नेपाल १ रनले पराजित भएको थियो । यस बाहेक भोलि हुने अर्को खेलमा अफगानिस्तान र साविक विजेता बंगलादेशका युवा टोली प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एसियाका आठ देश सहभागी छन् ।

नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह एमा भारत, पाकिस्तान, जापान र यूएई छन् । नेपालले आफ्नो दोस्रो खेल १६ गते बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement