काठमाडौं । कर्णाली याक्सले ओमानका पूर्वकप्तान जीसन मक्सूदलाई अनुबन्ध गरेको छ । हिमालयन बिल्डर्स एन्ड इन्जिनीयर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आइतबार ३७ वर्षीय अनुभवी अलराउन्डरलाई टोलीमा समावेश गरेको हो ।
बाँया हाते ब्याटर मक्सूद कर्णाली याक्समा अनुबन्ध हुने पाँचौं विदेशी खेलाडी हुन् । उनले ओमानको लागि ४८ एकदिवसीयमा एक हजार २७३ रन बनाएका छन् । त्यस्तै, ७३ टी ट्वेन्टी खेलमा एक हजार ३६९ रन बनाएका छन् । त्यस्तै, बलिङतर्फ टी ट्वेन्टी अन्तर्राष्ट्रियमा ५१ विकेट लिएका छन् ।
कर्णाली याक्सले गत साता विश्व क्रिकेटका चर्चित भारतीय खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपीएल खेल्ने सबैभन्दा ठूलो नाम हुन् । त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेस्ट खेलिसकेका चादविक वाल्टन र हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात छन् ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट विपीनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ । टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनाल सहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्ती सहित रीत गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।
प्रशिक्षक मल्लले अलराउन्डर मक्सूदको आगमनसँगै टोलीको ब्याटिङ र बलिङ बलियो हुने बताउनु भयो । “मक्सुद अनभुवी ब्याटर र बलर हुन् । उनको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ र बलिङ लाइन बलियो हुने आशा छ”, उहाँले भन्नु भयो ।
मक्सूदले पनि नेपाल प्रिमियर लिग खेल्न आफू उत्साहित रहेको बताउनु भएको छ ।