काठमाडौं । यो वर्षको नेपाल गल्फ टुर अन्तर्गत आठौं प्रतियोगिताको मिति सार्वजनिक भएको छ । आयोजन प्रोफेसनल गल्फ एसोसिएसनले आज पत्रकार सम्मेलन गरेर मंसिर १० गतेबाट यो वर्षको सिजन सुरु हुने जानकारी दिएको हो ।
भोलिबाट सुरु हुने नेपाल गल्फ टुर, सूर्य नेपाल सेन्ट्रल ओपन गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा १३ गतेसम्म सञ्चालन हुनेछ । सेन्ट्रल ओपन कुल ७२ होलको हुनेछ भने ३६ होलपछि कट लागू हुनेछ। प्रतियोगितामा सहभागी २१ व्यवसायिक र ६ एमेच्योर खेलाडीले मात्र अन्तिम ३६ होलको खेल खेल्न पाउनेछन् ।
चार दिनको प्रतियोगितामा कुल ८ लाख ८२ हजार पुस्कार रहेको छ भने पहिलो हुनेले एक लाख ५० हजार घर लैजान पाउनेछन्। दोस्रोले एक लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ पाउँदा २१ खेलाडीले नगद पुरस्कार पाउनेछन्। नेपाल टूर अन्तर्गत मंसिरकै २५ देखि २८ गतेसम्म काठमाडौं ओपन रोयल नेपाल गल्फ कोर्समा हुनेछ ।
पुषको ८ गतेबाट ११ गतेसम्म इस्टर्न ओपन हुनेछ। त्यसपछि लगातार वेर्स्टन ओपन, नेपाल च्यालेन्ज, टुर च्याम्पियनसिप, म्याच प्ले प्रतियोगिता हुनेछन्। यसैगरी, गल्फ प्रिमियर च्याम्पियनसिप सन् २०२५ को मे ४ तारिखबाट हुनेछ। नेपालको गल्फ टुरमा विदेशी खेलाडी ल्याउनको सरकारले नीतिगत सुधार गर्नुपर्ने गल्फ एसोसिएसनका महासचिव दीपक आचार्य बताउँछन्।
गल्फ टुरका आठ प्रतियोगितामा पुरस्कारमा मात्र ६७ लाख ३२ हजार रुपैयाँ खर्च हुनेछ भने प्रतियोगिता आयोजनाकोलागि ३२ लाख रुपैयाँ खर्च हुने आयोजकले जानकारी दिएको छ। गत वर्षको तुलनामा आयोजकले पुरस्कार राशीमा पाँच प्रतिशतले वृद्धि गरेको छ। अहिले बर्दिवासमा आर्मी गल्फ कोर्स बनिरहेको कारण त्यहाँ पनि प्रतियोगिता गराउने संघको लक्ष्य छ।