पितापुर्खाले दान दिएको जमिनमा रंगशालादेखि विद्यालयसम्म, सन्ततिलाई भने छाप्रो हाल्न समेत मुस्किल

मंसिर ९, २०८१ |रमा दाहाल
पितापुर्खाले दान दिएको जमिनमा रंगशालादेखि विद्यालयसम्म, सन्ततिलाई भने छाप्रो हाल्न समेत मुस्किल

झापा । भूमिपुत्र भनेर चिनिने राजवंशी, चौधरी, गनगाई जस्ता पूर्वी तराईका आदिवासी समुदायले दान दिएको जग्गामा झापामा दर्जनौं विद्यालय चलेका छन् । यसरी विद्यालय निर्माणका लागि बिघाका बिघा जग्गा दान दिने यी आदिवासी समुदायका दरसन्तान भने अहिले भूमिहीन बनेका छन् । यतिसम्म कि कतिपय जग्गादाताका सन्तति त आफ्नै पितापुर्खाले दान दिएको जग्गामै छाप्रो हालेर बस्नुपर्ने अवस्थामा पुगेका छन् ।

झापाको विर्तामोड नगरपालिका- ९ का उजारु राजवंशीले दान दिएको जमिनमा बनेको छ गरामुनिको दुर्गा मावि । २०१२ सालमा विद्यालयलाई एक बिघा १० धुर जग्गा दान दिने उजारुकी श्रीमती चम्फा भने अहिले घरवासविहीन अवस्थामा पुग्नु भएको छ । यसलाई नजिकबाट देखेका दुर्गा माविका शिक्षकहरूले आफ्नो तलबबाट केही रकम छुट्याएर दिए पनि अन्यत्रबाट सहयोग नजुट्दा चम्फाको घर बनाउने सपना पूरा हुन सकेको छैन ।

झापा सदरमुकाम चन्द्रगढीको वीरेन्द्र माविलाई सात कठ्ठा जग्गा दान दिएका कौवासिंह राजवंशीका छोराहरूको अवस्था पनि उस्तै छ । १६ बिघा जमिनका मालिक कौवासिंहका तीन छोरामध्ये जेठा धनीलालसँग अब १० धुर जमिनमा बनेको छाप्रो मात्रै बाँकी छ । अहिले उहाँको परिवार ज्याला मजदूरीको भरमा बाँचेको छ ।

पञ्चायतकालमा झापाका चर्चित नेता पुवाँती चौधरीले आफ्नै जग्गामा विद्यालय खोल्नुका साथै खेल मैदानका लागि समेत जग्गा दान दिनु भएको थियो । जग्गा जमिन सबै मासिएपछि उहाँका सन्तान अहिले रिक्सा चलाएर जीविका चलाइरहेका छन् । विर्तामोडका डोमालाल राजवंशीले दिएको जमिनमा उहाँकै नाममा भव्य रंगशाला बनेको छ । डोमालालका छोरा नाति भने अहिले त्यही रंगशालाको एक कुनामा छाप्रो हालेर बसेका छन् ।

स्कुल कलेज, मठ मन्दिर र खेल मैदानका लागि मुठी खोलेर जग्गा दान दिने झापाका थुप्रै दानवीरका सन्तति अहिले भीषण गरिबीमा पिल्सिरहेका छन् । स्कुल, कलेज बनाउन जग्गा दान दिनैकै सन्तानले अहिले शुल्क तिर्न नसकेर पढ्न सकेका छैनन् ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।