काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै दुई तिहाइ मत सहित सरकारको नेतृत्व गर्नुहुन्छ । तर मातहतको कर्मचारीतन्त्रले आफुले दिएको निर्देशन पालना गर्छ भन्नेमा प्रधानमन्त्रीलाई नै विश्वास छैन । यसकारण पनि प्रधानमन्त्री बेलाबेला कर्मचारीसामु हप्कीदप्कीकै शैलीमा प्रस्तुत हुने गर्नुहुन्छ । शक्तिशाली सरकारका प्रधानमन्त्रीले व्यक्त गरेको निराशाले हाम्रो प्रशासनिक संयन्त्रको चित्र स्पष्ट देखाउँछ ।
यो प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र मातहतका निकायको चालू आर्थिक वर्षको पहिलो चौमासिकको प्रगति समिक्षामा प्रधानमन्त्रीले व्यक्त गरेको भनाई हो । कर्मचारीलाई प्रधानमन्त्री भनेकै कुराले प्रष्टै देखाउँछ कि देशको कार्यकारी प्रमुखले दिएको निर्देशन समेत कर्मचारी संयन्त्रले टेर्दैन । प्रधानमन्त्रीले असन्तुष्ट व्यक्त गरेजस्तै दिक्क छन् सेवाग्राही पनि, जो सरकारी संयन्त्रको सेवा प्रवाहमाथि नै विश्वास गर्दैनन् ।
संसदको पहिलो र दोस्रो ठुलो दल मिलेर बनेको शक्तिशाली सरकारका प्रधानमन्त्रीले यति धेरै निरिहता प्रकट गर्नुपर्ने अवस्था किन आयो ? त्यसो त राजनीतिक दलहरुले नै कर्मचारीहरुलाई समेत सकेसम्म दुरुपयोग गर्न खोजेका प्रशस्तै उदाहरण छन् । अझ पछिल्लो समय त कर्मचारी युनियनहरुका हस्तक्षेत्रका कारण प्रशासनको नेतृत्वले काम गर्न नसकेको पनि देखिन्छ ।
आधिकारिक ट्रेड युनियन बाहेक दलगत संगठन पनि निजामति क्षेत्रमा सक्रिय छन्, जसको मुल असर अहिलेको प्रशासनिक संयन्त्रमा परेको प्रशासनविद्हरुको बुझाइ छ । सरकार प्रमुखकै निर्देशन कर्मचारी संयन्त्रले अटेरी गर्ने प्रवृत्तिले हाम्रो प्रशासनमा गम्भीर समस्या रहेको उजागर गर्छ ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद्को पहिलो बैठकबाट ३ महिनाभित्र जनताले महसुस गर्ने गरि काम गर्न मन्त्रीहरुलाई दिएको निर्देशन नै अलपत्र छन् । विकास खर्चको स्थिति निराशाजनक छ, जुन ६५ प्रतिशतभन्दा माथि जानै सकेको छैन । कर्मचारीसँगका बारम्बारका बैठक र प्रधानमन्त्रीका पटकपटकका निर्देशनको प्रभाव नै नदेखिनुको मुख्य कारण नै हरेक क्षेत्रमा भएको राजनीतिकरण हो । कर्मचारी, सुरक्षा संयन्त्रदेखि न्यायलय जस्ता संवेदनशिल क्षेत्रसम्मै राजनीतिक भागबण्डा चल्छ । दलहरुले स्वार्थ अनुकुल उनीहरुलाई प्रयोग गर्ने गरेकै कारण स्वतन्त्र रुपमा प्रभावकारी कार्यसम्पादन हुन नसकेको देखिन्छ । यो अवस्था अन्त गर्दै सबै निकायले स्वतन्त्र रुपमा काम गर्ने वातावरण नबन्ने हो भने परिस्थित थप गन्जागोल हुने निश्चित छ ।