काठमाडौं । विराटनगर किंग्सले आफ्नो जर्सी र गीत सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिग(एनपीएल)को फ्रेन्चाइज टोली विराटनगरले पत्रकार सम्मेलनमार्फत जर्सी र गीत सार्वजनिक गरेको हो ।
प्रिमियर लिगमा 'कोशीको शान, हाम्रो पहिचान’ भन्ने नारासहित कोशी प्रदेशको प्रतिनिधित्व गर्ने विराटनगर किंग्सले जनाएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगर प्रमुख नागेश कोइराला, प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, टोलीका मार्की खेलाडी सन्दीप लामिछाने, टिमका मालिक पारस लुनियालगायतको उपस्थितिमा जर्सी र गीत सार्वजनिक गरिएको थियो ।
विराटनगर किंग्सको जर्सी पहेंलो र निलो रङमा रहेको छ । जर्सीसँगै कार्यक्रममा टोलीको गीतसमेत सार्वजनिक गरिएको थियो । भ्वाइस अफ विराटनगर किंग्स तथा एम्बास्डर समेत रहेका कुशल पोखरेलले विराटनगरका लागि र्याप गीत तयार पारेको छन् । यसका साथै फेस अफ विराटनगर किंग्सका रुपमा गायिका रचना रिमाल अनुबन्ध गरेको टिमले घोषणा गरेको छ ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले नेपाली क्रिकेटले विश्वव्यापी रुपमा उत्कृष्ट र राम्रो छवि बनाउँदै गएको बताउनु भयो । उहाँले क्रिकेटबाट नेपालले विश्वमा पहिचान बनाउन सफल भएको हुँदा खेलाडीसहित प्रशिक्षक र व्यवस्थापकसमेत नेपालको सफलतामा बधाईको हिस्सेदार रहेको बताउनु भयो ।