रुसबाट आक्रमणको धम्की आएपछि युक्रेनको किएभस्थित अमेरिकी दूतावास अस्थायी रुपमा बन्द

मंसिर ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
रुसबाट आक्रमणको धम्की आएपछि युक्रेनको किएभस्थित अमेरिकी दूतावास अस्थायी रुपमा बन्द

काठमाडौं । युक्रेनको राजधानी किएभस्थित अमेरिकी दूतावास अस्थायी रुपमा बन्द गरिएको छ । अमेरिकी विदेश मन्त्रालयको कन्सुलर विभागले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आज अप्रत्याशित रुपमा रुसबाट हवाई आक्रमणको धम्की आएपछि दूतावास बन्द गर्न निर्देशन दिइएको विदेश मन्त्रालयले जनाएको छ । साथै दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरिएको छ । अमेरिकाले रुसको भित्रि भागसम्म मार हान्ने लामो दूरीको क्षेप्यास्त्र प्रयोगको अनुमति दिएको भोलिपल्टै युक्रनेले रुसी भूभागमा उक्त क्षेप्यास्त्र प्रहार गरेको थियो ।

उक्त घटनापछि युक्रेनको किएभस्थित अमेरिकी दूतावासलाई यस्तो चेतावनी आएको हो । यसैबीच अमेरिकी राष्ट्रपति बाइडेन युक्रेनलाई ‘एन्टी पर्सनल ल्यान्डमाइन' उपलब्ध गराउन सहमत हुनुभएको छ । उक्त 'ल्यान्ड माइन' छिट्टै युक्रेनलाई हस्तान्तरण गरिने र युक्रेनको सीमाभित्र प्रयोग हुने अपेक्षा रहेको अमेरिकी अधिकारीले बताएका छन् । तर युक्रेनले बाक्लो बस्तीमा उक्त माइन प्रयोग गर्ने छैन । युक्रेनको पूर्वतर्फ तीव्र गतिमा अघि बढिरहेको रुसी सेनालाई रोक्न बाइडन प्रशासनले यस्तो निर्णय गरेको बताइएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गर्दै हुनुहुन्छ । रुसले युद्धमा युक्रेनलाई सहयोग नगर्न पश्चिमी देश र नेटो सदस्य राष्ट्रहरूलाई चेतावनी पनि दिँदै आएको छ । अमेरिकाले उक्त मिसाइल युक्रेनलाई उपलब्ध गराएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु हतियार प्रयोगसम्बन्धी सिद्धान्तमा गरिएको परिवर्तनलाई अनुमोदन गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.