शानदार टेनिस करियरमा राफायल नडालले लगाए पूर्णविराम

मंसिर ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
शानदार टेनिस करियरमा राफायल नडालले लगाए पूर्णविराम

काठमाडौं । डेभिस कप अन्तर्गत स्पेन नेदरल्याण्ड्ससँग पराजित भएपछि राफायल नडालको शानदार टेनिस करियर समाप्त भएको छ ।

२२ पटकका ग्रान्ड स्लाम च्याम्पियन स्पेनिस महान खेलाडी नडालले हालै डेभिस कप पछि व्यवसायिक खेल जीवनबाट सन्यास लिने घोषणा गरेका थिए ।

मालागामा खचाखच भरिएको स्टेडियममा ३८ वर्षीय नडाल बोटिक भान डे जान्डस्चल्पसँग ६-४ र ६-४ ले पराजित भएपछि उनको टेनिस यात्रामा पूर्णविराम लागेको हो ।

नडालले आफ्नो २० वर्षको व्यावसायिक करियरमा साथ दिने सबैलाई धन्यवाद दिए । नडालले ग्रान्ड स्लाम जित्ने क्रममा दोस्रो सबैभन्दा सफल पुरुष एकल खेलाडीको रूपमा सन्यास लिएका छन् । उनी अघि उनका लामो समयका प्रतिद्वन्द्वी नोभाक जोकोभिच मात्र छन् । 'किङ्ग अफ क्ले' भनेर चिनिने नडालले रोल्यान्ड गारमा १ सय १६ मध्ये १ सय १२ खेल जितेका छन् । उनले कीर्तिमानी १४ पटक फ्रेन्च ओपन एकल उपाधि जितेका छन् ।

नडालले चार पटक युएस ओपन जित्दा २-२ पटक अस्ट्रेलियन ओपन र विम्बल्डन जितेका छन् । उनले ओलम्पिक एकल र डबल्स स्वर्ण समेत जितेका छन् । स्पेनलाई चार डेभिस कप दिलाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.