भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर लागेका बालबालिकाको उपचार नि:शुल्क हुने

मंसिर ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर लागेका बालबालिकाको उपचार नि:शुल्क हुने

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष सम्मका बालबालिकामा हुने क्यान्सरको सम्पूर्ण उपचार नि:शुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्ष उमेर समूहका बालबालिकामा हुने क्यान्सर रोगको सम्पूर्ण उपचार तथा औषधी सेवा नि:शुल्क भएर कार्यान्वयनको चरणमा गएको बताउनुभयो ।

भक्तपुर क्यान्सर अस्पतालले आज गरेको कार्यक्रममा उहाँले सबै क्यान्सर भएका बिरामीको नि:शुल्क उपचार गर्ने दायित्व सरकरको भए पनि राज्यको स्रोतले नभ्याउने भएकाले हाललाई १४ वर्षसम्मका बालबालिकाको उपचार गर्न सरकारले स्रोत सुनिश्चि गरेको बताउनुभएको हो ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका बालबालिकालाई आज मन्त्री पौडेलले नि:शुल्क उपचारको कार्ड वितरण गर्नुभएको थियो । बिरामी बालबालिकाका आफन्त भने यो सेवाले विपन्न भएकाहरुले सहज रुपमा उपचार पाउने विश्वास व्यक्त गरेका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी गत कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो ।

सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा बालकालिकाका लागि निःशुल्क उपचार गर्ने गर्ने निर्णय गरेको थियो । बालबालिकाको क्यान्सर रोगको उपचारसँगै क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधी निःशुल्क प्रदान गरिनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत २०८० चैत १४ मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)सँग बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधी प्राप्तिका लागि सम्झौता गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.