काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पेरुलाई १-० ले हराएको छ ।
यो जितले लियोनल मेसीको टोलीले अमेरिका, मेक्सिको र क्यानडामा हुने २०२६ को विश्वकपमा स्थान पक्का गरेको छ । यो जितपछि अर्जेन्टिना दक्षिण अमेरिकी छनोटको कम्तीमा पनि छैठौं स्थानभन्दा माथि रहने निश्चित भएको हो । यस क्षेत्रबाट ६ टोली विश्वकपमा छनोट हुने भएकाले साविक विजेता अर्जेन्टिना २०२६ को फिफा विश्वकप फुटबलमा छनोट हुने पक्का भएको छ ।
ब्यूनस आयर्समा लाउतारो मार्टिनेजले अर्जेन्टिनाका लागि निर्णायक गोल गरेका थिए । खेलको ५५ औं मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्रमा बल क्रस गर्दै मार्टिनेजलाई अवसर श्रृजना गरेका थिए ।
इन्टर मिलान स्ट्राइकर मार्टिनेजलका लागि यो ३२ औं अन्तर्राष्ट्रिय गोल थियो । यससँगै मार्टिनेजले अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको स्कोरिङ चार्टमा महान फुटबलर डिएगो माराडोनासँग बराबरी गरेका छन् । दुवै खेलाडी यस सूचीको पाँचौ स्थानमा छन् ।
यस जितसँगै अर्जेन्टिना १२ खेलबाट २५ अंकसहित दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा छ । यो हारले पेरु सात अंकसहित राउण्ड रोबिन प्रतियोगिताको पुछारबाट माथि निस्कन सकेन ।