नेपालमा मन्त्री हुन नेताले मन पराए भइहाल्यो, कुनै योग्यता चाहिँदैन : पृथ्वीसुब्बा गुरुङ

मंसिर ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालमा मन्त्री हुन नेताले मन पराए भइहाल्यो, कुनै योग्यता चाहिँदैन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपलमा मन्त्री हुनलाई कुनै योग्यता नचाहिने बताउनुभएको छ । बुधवार काठमाडौंमा विशिष्ट चलचित्रकर्मी परिचय पत्र वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । निर्वाचन जितेपछि र पार्टी एवं नेताको नजरमा परेपछि मन्त्री बन्ने परम्परा गलत रहेको उहाँको भनाइ छ ।

'हाम्रो नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै चाहिँदैन,' उहाँले भन्नुभयो, 'तपाईंहरुले जिताइदिएपछि पुगिहाल्यो । त्यो मन्त्रालय चलाउनन यति क्वालिफिकेसन, अनुभव, योग्यता चाहिन्छ भन्ने कुरा केही पनि छैन । चुनाव जितेर आएर पार्टी र नेताले मन पराएपछि भइहाल्यो ।' उहाँले विषय विज्ञहरुलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिनुपर्ने बताउनु भयो ।

मन्त्री गुरुङले लोकरिझ्याइँको राजनीति गलत भएको बताउनुभएको छ । उहाँले नेपाली समाज नै ढोंगी बनिरहेको उल्लेख गर्दै के बोल्दा तत्काल ताली बज्छ त्यही मात्रै बोल्ने क्रमको विकास भएको बताउनु भयो । 

उहाँले कलाकारको बीचमा पुग्दा म पनि कलाकार थिएँ भन्ने र मजदुरको कार्यक्रममा जाँदा म पनि मजदुर नेता थिएँ जस्ता लोकरिझ्याइँका अभिव्यक्ति दिन नहुने बताउनु भयो । मन्त्री गुरुङ नयाँ चलचित्र ऐन, २०८१/०८२ भित्र ल्याइसक्ने प्रतिवद्धता समेत जनाउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.