काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपको आउँदो संस्करण बंगलादेशमा आयोजना हुने भएको छ । आज बिहान सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ, साफको चौथो बैठकले उमेर समूहको दुई वटा साफ च्याम्पियनसिपको मिति र आयोजना स्थल टुंगो लगाएको हो ।
२० वर्षसम्मको महिला साफ च्याम्पियनसिप सन् २०२५ को फेब्रुअरीमा बंगलादेशमा हुने । ढाकामा हुने प्रतियोगिता आगामी माघ ११ गतेदेखि फागुन ७ गतेसम्म चल्नेछ । यसअघि अन्जना राना मगरको कप्तानीमा रहेको नेपाली अन्डर नाइन्टिन टिम फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।
नेपालले अन्डर एटिन, अन्डर नाइन्टिन र अन्डर ट्वेन्टी च्याम्पियनसिपको उपाधि अहिलेसम्म जित्न सकेको छैन । यो प्रतियोगितामा नेपाल दुई पटक फाइनल पुगेको छ ।
त्यसैगरी साफ पुरुष अन्डर नाइन्टिन च्याम्पियनसिप २०८२ सालको कार्तिक १९ गतेदेखि २९ गतेसम्म हुने भएको छ । यो प्रतियोगिताको आयोजना अधिकार भारतले पाउने भएको छ ।
समग्रमा १८, १९ र २० वर्ष मुनिको साफ पुरुष च्याम्पियनसिपमा नेपाल दुई पटक विजेता बनिसकेको छ । अन्डर नाइन्टिनतर्फ नेपाल सन् २०१५ मा च्याम्पियन बनेको थियो ।