काठमाडौं । अमेरिकी टेनिस स्टार कोको गौफ डब्ल्यूटीए टेनिसको फाइनलमा प्रवेश गरेकी छन् ।
सेमिफाइनलमा विश्व नम्बर एक आर्यना साबालेन्कालाई सोझो सेटमा पराजित गर्दै गौफ उपाधि नजिक पुगेकी हुन् । साबालेन्काविरुद्ध पहिलो सेटमा कडा चुनौती सामना गर्नु परेपनि गौफले दोस्रो सेटमा भने सहज जित हात पारिन् । गौफले ७-६ र ६-३ को जित हात पारेकी हुन् ।
सेमिफाइनलमा पराजित भएपनि साबालेन्का वर्षको अन्त्यमा विश्व वरीयताको शीर्ष स्थानमै रहने छिन् । तर पहिलोपटक डब्ल्यूटीए फाइनलको उपाधि जित्ने उनको योजना भने यसपटक पनि साकार हुन सकेन ।
गौफले उपाधिका लागि आज राति चीनकी झेङ छिन्वेनसँग प्रतिस्पर्धा गर्नेछिन् । सातौँ वरीयताकी झेङले चेक गणराज्यकी बारबोरा क्रेज्सिकोभालाई ६-३, ७-५ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् ।