काठमाडौं । युरोपा कन्फरेन्स लिगमा चेल्सीले अहिलेसम्मकै फराकिलो जित हात पारेको छ । गएराति भएको खेलमा चेल्सीले अर्मेनियाको एफसी नोआलाई ८-० गोलले पराजित गरेको हो ।
स्टामर्फड व्रिजमा, चेल्सी, प्रिमियर लिगको अघिल्लो खेलभन्दा फरक देखिएको थियो । उसले पहिलो हाफमा नै ६-० गोलको अग्रता लियो । सात वर्षअघि स्थापना भएको नोआले राम्रो सुरुवात गरेपनि केही समयमा नै लय गुमायो ।
१२ औं मिनेटमा एन्जो फर्नान्डेजको कर्नरमा टोसिनले चेल्सीका लागि पहिलो गोल गरेका थिए । १३ औं मिनेटमा मार्क गिउले अग्रता दोब्बर बनाए । १८ औं मिनेटमा फर्नान्डेजको अर्को कर्नरमा एक्सेल डिसासीले टिमका लागि तेस्रो गोल थपे । २१ औं मिनेटमा जो आवो फिलिक्सले पाहुना टोलीसंगको दुरी चार शुन्यमा पुर्याएका थिए । ३९ औं मिनेटमा मिखाएलो मुद्रिकले र ४१ औं मिनेटमा फिलिक्सले गोल गरे । दोस्रो हाफमा पनि चेल्सी आक्रमक रह्यो । ६९ औं मिनेटमा क्रिस्टोफर एनकुन्कु र उनैले ७६ औं मिनेटमा पेनाल्टीमा गोल थपे ।
एनकुन्कु यो सिजन क्लबका उच्च गोलकर्ता हुन् । उनले दश गोल गरिसकेका छन् । कमजोर डिफेन्स प्रस्तुत गरेको नोहाको यो एघारौं कन्फरेन्स लिग खेल हो । तर उसले एक खेलमा पनि गोल गर्न सकेको छैन । तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीको तीन खेलबाट ९ अंक छ । उसले तीन खेलमा १६ गोल गरिसकेको छ । कन्फरेन्स लिग सिजनको सुरुवाती तीन खेलमा १६ गोल गर्ने चेल्सी पहिलो टोली हो ।