सहकारी पीडितको आक्रोश : रास्वपाका नेता-कार्यकर्ताले पीडितमाथिको भ्रामक प्रचार बन्द गरुन्

कार्तिक २३, २०८१ |भुपाल गुरुङ
सहकारी पीडितको आक्रोश : रास्वपाका नेता-कार्यकर्ताले पीडितमाथिको भ्रामक प्रचार बन्द गरुन्

कास्की । सहकारी पीडितहरुबारे गलत र भ्रामक समाचार प्रचारप्रसार गरेको भन्दै पोखराको सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिले आपत्ति जनाएको छ ।

संघर्ष समितिले आज पोखरामा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले सहकारी पीडितहरुको नेतृत्व गरेका व्यक्तिहरुबारे कपोलकल्पित र भ्रामक सूचनाहरु पोष्ट गरेर चरित्रहत्या गरेकोमा आपत्ति जनाएका हुन् । सहकारी पीडितहरुले रास्वपाका नेता-कार्यकर्ताको पीडितलाई थप पीडा थप्ने यस्ता हर्कत बन्द गर्न सचेतसमेत गराएका छन् ।

समितिले रास्वपासँग जोडिएका जिम्मेवार व्यक्तिहरुले नै सामाजिक सञ्जालको दुरुपयोग गरी पीडितको आन्दोलनलाई विषयान्तर र कमजोर बनाउन खोजेको आरोप लगाउँदै त्यसतर्फ सचेत रहन आग्रह गरेको छ । संघर्ष समितिका संयोजक किरण श्रेष्ठले आँफूलाई जोडेर गरिएका कुप्रचारविरुद्ध कानुनी उपचार खोजिनेसमेत बताउनुभएको छ ।

'हाम्रो आन्दोलन रास्वपा केन्द्रित होइन । पीडितहरुलाई झुटा लाञ्छना लगाउन र चरित्रहत्या नगर्न आग्रह गर्दछौं,' श्रेष्ठले भन्नुभयो, 'रास्वपा नेता, कार्यकर्ताहरुले सहकारी पीडितका घरघरमै गएर प्रलोभन देखाउने र धम्क्याउने काम गरिरहेकाले त्यस्तो काम रोक्न चेतावनी पनि दिन्छौं ।' 

गत कार्तिक २ गते पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरी पोखरा ल्याएसँगै रास्वपा नेता, कार्यकर्ता तथा समर्थकले दैनिकजसो सडक आन्दोलन गर्दै आएका छन् । 

पोखरामा एकातर्फ रास्वपाले सभापति लामिछानेको रिहाइको माग गर्दै आन्दोलन गरिरहेको छ भने अर्कोतर्फ सहकारी पीडितहरुले सहकारी ठगीको आरोपमा पक्राउ परेका व्यक्तिहरुमाथि निष्पक्ष छानविन हुनुपर्ने र आफ्नो वचत फिर्ता हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।