काठमाडौं । आईसीसी अन्डर नाइन्टिन महिला विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । दुबईमा भएको खेलमा नेपालले कुवेतलाई १ सय ८ रनको फराकिलो अन्तरले हराएको हो ।
उत्कृष्ट सुरुवात गरेको नेपाललले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । जवाफमा कुवेतका खेलाडी २२ रनमै अलआउट भएपछि नेपालले सानदार जित हात पारेको हो ।
नेपालले ओपनिङबाट नै सानदार प्रदर्शन गर्यो । ओपनर सावित्री धामी ६ रनमा रन आउट भए पनि साना प्रविनले २५ रनको योगदान गरिन् । तेस्रो नम्बरमा मैदान प्रवेश गरेकी पुजा महतोले सम्हालिएर खेल्दै सर्वाधिक ३८ रन बनाइन् ।
ज्योत्स्निका मरासिनीले २३ रन जोडिन् भने एलिशा कुमारी यादव १५ रनमा आउट भइन् । नेपालविरुद्ध कुवेतका लागि आयेशा पेवाकरले २ विकेट लिँदा जिफा र अमिशा राम ओलाछेरीले समान १-१ विकेट लिए ।
जवाफमा कुवेत सस्तैमा समेटियो । कुवतेले १३ ओभरमा सबै विकेट गुमाएर २२ रन मात्रै बनाउन सक्यो । ओपानर अयेशा २ रनमा आउट भइन् भने क्यान्डिस डियाज, मारिया डि सुजा र एस–हानवी सिंह शून्यमा आउट भए । दुई खेलाडी रनआउट बन्दा पुजा र करिश्माले एक–एक विकेट आफ्नो नाममा गरेका थिए । सीमा केसीले पनि दुई विकेट आफ्नो नाममा गरिन् ।
ओपनर जिफा जिलानीले १२ रन बनाए पनि कुवेत नेपाली बलर सामु टिक्न सकेनन् । नेपालका लागि मनिषा कुमारी उपाध्यायले एक तथा रचनाकुमारी चौधरीले २ विकेट लिइन् । समग्रमा कुवेतका ६ जना खेलाडी शून्यमा आउट भएका थिए ।
नेपालले लिग चरणको अर्को खेलमा शनिबार आयोजक यूएईसँग खेल्नेछ । त्यसपछि डबल राउन्ड रोविनको दोस्रो चरणको खेल सुरु हुनेछन् । छनोटको विजेता टोली विश्वकपमा पुग्नेछ ।