लिग-टूका दुई ओडीआई सिरिज खेलेर नेपाली टिम स्वदेश फर्कियो, प्रदर्शन भने फितलो

कार्तिक २२, २०८१ |खेल ब्युरो
लिग-टूका दुई ओडीआई सिरिज खेलेर नेपाली टिम स्वदेश फर्कियो, प्रदर्शन भने फितलो

काठमाडौं । करिब दुई महिना लामो उत्तर अमेरिका भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ ।

आईसीसी विश्वकप लिग टू अन्तर्गत क्यानडा र अमेरिकामा सम्पन्न दुईवटा त्रिकोणात्मक ओडीआई सिरिज खेलेर क्रिकेट टोली आज नेपाल फर्किएको हो । भ्रमणका दैरान नेपालले क्यानडामा त्रिकोणात्मक टी–२० आई सिरिज र अमेरिकामा घरेलु टोलीसँग ३ खेलको टी–२० आई सिरिज खेलेको थियो । समग्रमा नेपालका लागि यो भ्रमण निरासाजनक रह्यो । विषेश गरी एकदवसीय मान्यता र विश्वकप छनोटको मार्गका रुपमा रहेको लिग-२ मा नेपालले खराव प्रदर्शन गर्‍यो ।

भदौ २५ गते क्यानडा गएको नेपालले त्यहाँ ओमान र घरेलु टोलीसँग लिग टु अन्तर्गतको ओडीआई सिरिज खेलको थियो । घरेलु टोली क्यानडासँगका ३ वटै खेलमा पराजय बेहोरेको नेपादलले ओमानसँग १ खेल हार्दा अर्को खेल वर्षाका कारण रद्द भयो । 

यस सिरिजमा नेपालले कम्तिमा ६ अंक जोड्ने लक्ष्य राखे पनि योजना अनुसार प्रदर्शन हुन सकेन । त्यसपछि तीन वटै देश बीच खेलिएको टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले ४ मा २ खेल जित्दै दोस्रो स्थान हासिल गर्‍यो ।

क्यानडा भ्रमण सकेर अमेरिका गएको नेपालले घरेलु टोलीविरुद्धको ३ खेलको टी-२० आई सिरिज क्लिनस्विप गरेको थियो । टी–२० आई सिरिजमा अमेरिकाविरुद्ध उसकै घरमा प्रभवशाली जित हासिल गरे पनि नेपालले लिग टूमा घरेलु टोली र स्कटल्यान्डसँग भएको त्रिकोणात्मक ओडीआई सिरिजमा भने पुनः खराब प्रदर्शन गर्‍यो । 

सो सिरिजमा नेपाल अमेरिकाविरुद्ध दुवै खेलमा पराजित हुँदा एक खेलमा स्कटल्यान्डलाई पराजित गर्‍यो भने दुई टोलीबीचको अर्को खेलमा वर्षा बाधक बन्दा अंक बाँड्यो । 

लिग–२ का दुवै सिरिजमा कुल १६ अंकका लागि प्रतिस्पर्धा गरेको नेपालले ४ अंक मात्र जोड्न सक्यो । तत्कालका लागि नेपालले कुनै अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका नरहदाँ खेलाडीहरु मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग एनपीएलमा केन्द्रित हुनेछन् ।