कास्की । दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर जोन्टी रोड्स पोखरा आइपुगेका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को टिम पोखरा एभेन्जर्सको मेन्टरका रुपमा आबद्ध भएका जोन्टी बुधबार दिउँसो काठमाडौं ओर्लिएर सिधै पोखरा आइपुगेका हुन् । जोन्टी आज बिहान ‘राइड विथ जोन्टी रोड्स’ कार्यक्रममा सहभागी भए । उनलाई पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगमा पोखरेलीहरुको टिमको समर्थन जुटाउन बाजागाजासहित र्याली निकालेर पोखरा परिक्रमा गरायो ।
र्याली पश्चात पत्रकार सम्मेलनमा बोल्दै जोन्टीले क्रिकेट विकासका लागि पूर्वाधार आवश्यक हुने बताए । उनले नेपाली क्रिकेटको प्रसंशा गर्दै सहयोगको खाँचो रहेको औल्याए ।
क्रिकेटर जोन्टीले दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र दुई सय ४५ एकदिवसीय खेल खेलेका छन् । उनले आईपीएलका लागि मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्ससँग काम गरिसकेका छन् । जोन्टीले एभेन्जर्ससँग तीन वर्षे सम्झौता गरेका छन् । उनी आजै दिउँसो काठमाडौं फर्किएर टिमका खेलाडीलाई कोचिङ दिने र जर्सी सार्वजनिक गर्ने कार्यक्रममा सहभागी हुने बताइएको छ ।
नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की प्लेयर रहेको पोखरा एभन्जर्समा ४ विदेशी खेलाडीहरू इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका एन्डर्सन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडे अनुबन्ध भइसकेका छन् ।
त्यस्तै, टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलिप नाथ, तृतराज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भइसकेका छन् ।
यसैगरी, आईपीएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ । एनपीएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।