जारी सिजनको युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको पहिलो जित

कार्तिक २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
जारी सिजनको युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको पहिलो जित

काठमाडौं । युरोपा लिगमा म्यानचेस्टर युनाइटेडले ग्रीक क्लब पाओकलाई २-० गोलले पराजित गरेको छ । जारी सिजनको युरोपा लिगमा युनाइटेडको यो पहिलो जित हो ।

ओल्ड ट्राफोर्डमा गएराति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ग्रीक च्याम्पियनले गोलको सुनौलो अवसर पाएपनि सदुपयोग गर्न सकेन । मेडी कामाराको प्रहार युनाइटेड गोलकिपर आन्द्रे ओनानाले बचाउ गरेका थिए ।

५० औं मिनेटमा अमाद डियालोले डेडलक तोडे । उनले ब्रुनो फर्नान्डेजको सहयोगमा गोल गरेपछि युनाइटेडले अग्रता लिएको थियो । ६४ औं मिनेटमा पाओकले खेल बराबरी गर्ने सुनौलो अवसर पाएको थियो । अनमार्कड् रहेका तारिलको फितलो प्रहारले गोलकिपर ओनानालाई पार गर्न सकेन । ७७ औं मिनेटमा अमादले पुनः गोल गरेपछि अन्तरिम प्रशिक्षक रुड भानको नेतृत्वमा रहेको युनाइटेडले जित हात पारेको हो ।

युरोपा लिगमा यसअघिका तीन खेलमा युनाइटेडले बराबरीको नतिजा निकालेको थियो । ३६ टोली सहभागी लिग तालिकाको १५ औं स्थानमा रहेको युनाइटेडको चार खेलबाट ६ अंक छ । प्रिमियर लिगकै अर्को टोली टोटेनहम भने पराजित भयो । टर्कीस क्लब गालातासारेले, दश खेलाडीमा समेटिएको टोटेनहम माथि तीन दुई गोलको जित हात पारेको हो ।

इस्तानबुलमा खेल सुरु भएको छैटौं मिनेटमा नै युनुसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । १८ औं मिनेटमा युवा खेलाडी विल लंकसियरले बराबरी गोल फर्काए । ३१ औं मिनेटमा भिक्टर ओसिमहेनले पुनः आफ्नो टोलीलाई अघि बढाए । ३९ औं मिनेटमा उनैले गोल गरेपछि टोटेनहम तीन एकले पछि परेको थियो । ६० औं मिनेटमा विल दोहोरो पँहेलो कार्ड पाउँदै मैदान बाहिरिए । ६९ औं मिनेटमा सब्सिच्युट डोमिनिक सोलान्केले गोल गरेपनि टोटेनहमको जितका लागि पर्याप्त भएन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.