काठमाडौं । उत्तर कोरियाले कीर्तिमानी तेस्रो पटक फिफा अन्डर सेभेन्टिन महिला विश्वकपको उपाधि जितेको छ ।
आज बिहान भएको फाइनलमा उत्तर कोरियाले स्पेनलाई पेनाल्टी सुटआउटमा चार-तीनले पराजित गरेको हो । डोमिनिकन रिपब्लिकस्थित फेलिक्स सान्चेज स्टेडियममा स्पेनले सुरुवाती अग्रता जोगाउन नसक्दा उपाधि गुमाउनुपर्यो ।
खेलको पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन् । उत्तर केारियाली गोल किपर पाक जु ग्योङले स्पेनिस प्रहारको उत्कृष्ट बचाउ गरेकी थिइन् । फाइनल पुग्दासम्म त्यति धेरै परिक्षण नभएकी जु ग्योङले स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकी हुन् ।
६१ औं मिनेटमा सेइला सिगोराको गोलमार्फत स्पेनले खेलमा एक शून्यको अग्रता लिएको थियो । तर ६४ औं मिनेटमा उत्तर कोरियाकी जन चङले बराबरी गोल फर्काएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा उत्तर कोरियाले पाँचमध्ये चार प्रहार गोलमा परिणत गरेको थियो । स्पेनका आइलिस आस्ली र पाउला प्राडो पेनाल्टीमा चुके । एशियन हेभिवेट उत्तर कोरियाले यसअघि सन २००८ र २०१० मा उपाधि जितेको थियो । तीन उपाधि जित्ने उत्तरकोरिया एक्लो राष्ट्र हो । उपाधिमा ह्याट्रिक गर्ने स्पेनको सपना भने अधुरै रह्यो ।