काराबाओ कपबाट बाहिरियो म्यान्चेस्टर सिटी, टोटनहम २-१ ले विजयी हुँदै क्वार्टरफाइनलमा

कार्तिक १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
काराबाओ कपबाट बाहिरियो म्यान्चेस्टर सिटी, टोटनहम २-१ ले विजयी हुँदै क्वार्टरफाइनलमा

काठमाडौं । म्यानचेस्टर सिटी काराबाओ कपको अन्तिम १६ बाटै बाहिरिएको छ । गएराति सम्पन्न खेलमा टोटनहमसँग २-१ ले पराजित भएपछि सिटीको यात्रा प्रिक्वार्टरफाइनल चरणबाटै समाप्त भएको हो ।

टिमो वेर्नरले सात महिनापछि टोटनहमका लागि गोल गरे । टोटेनहम हटस्पर स्टेडियममा रोमाञ्चक बनेको खेलमा दुवै टिमका खेलाडी चोटग्रस्त बने । टोटनहमका मिकी भ्यान डे भेनले घाइते हुँदै मैदान छोड्दा सिटीका सभिन्होलाई स्ट्रेचरमा राखेर पिच बाहिर लगियो । वर्नरले पनि फिटनेसकै कारण पूरा समय खेल्न सकेनन् । 

खेल सुरु भएको पाँच मिनेट नबित्दै वर्नरले गोल गरेपछि लगभग ६१ हजार दर्शकमाझ टोटनहमले घरेलु मैदानमा सुरुवाती अग्रता बनायो । डेजान कुलुसेभस्कीको पासमा वर्नरको प्रयासले टोटनहमलाई खेलको सुरुवातमै अग्रता दिलाएको थियो ।

पापे माटर सरले २५औं मिनेटमा घरेलु टोलीका लागि दोस्रो गोल थपे । यस पटक पनि कुलुसेभस्कीकै सहयोगमा माटर सरले बक्स बाहिरबाट गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा सविन्हाको पासमा म्याथियस नुनेसले गोल गर्दै सिटीलाई खेलमा फर्काउने प्रयास गरे । सीटीका गोल रक्षक स्टेफन ओर्टेगाले तीनवटा बचाउ गरे । रिचार्लिसनले सहज स्थितिबाट गोल गर्न नसक्नु सिटीका लागि मह‌ँगो साबित भयो ।

यससँगै आठ पटकको च्याम्पियन सीटी सिजनमा पहिलो हार बेहोर्दै नकआउट हुन पुग्यो । टोटनहमले क्वार्टरफाइनलमा म्यान्चेस्टर युनाइटेडसँगको भेट पक्का गर्यो । सेमिफाइनल प्रवेशका लागि टोटनहम र युनाइटेडबीचको खेल डिसेम्बर १७ मा खेलिनेछ । युनाइटेडले लेस्टर सिटीलाई ६-२ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनायो । युनाइटेडले प्रशिक्षकका रुपमा एरिक टेन हागलाई बर्खास्त गरेपछिको पहिलो खेलमै विशाल जित हात पारेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement