काठमाडौं । न्युजिल्यान्डका स्कट कुगेलेइनले सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । सुदूरपश्चिमले आज सूचनामार्फत उनले एनपीएल खेल्ने जानकारी दिएको हो ।
न्युजिल्यान्डका लागि टेस्ट, एक दिवसीय र टी–२० विश्वकप खेलिसकेका स्कटले पछिल्लो पटक यसै वर्ष अष्ट्रेलियासँग टेस्ट खेलेका थिए ।
तीव्र गतिका बलर स्कटले सन् २०११ देखि पहिलो श्रेणीको क्रिकेट खेल्दै आइरहेका छन् । टी–२० क्रिकेटमा उनले एक सय ६८ विकेट लिएका छन् । अलराउन्डर उनले एक हजार २२ रन बनाएका छन् । सदूरपश्चिमले यसअघि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इंग्लिस क्रिकेटर सेफ अलीलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिमले यही कार्तिक २८ गते ट्यालेन्ट हन्ट गर्नेछ ।
त्यसैगरी अष्ट्रेलियन अलराउन्डर बेन कटिङले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने भएका छन् । अलराउन्डर बेनले आईपीएल, बिग बास लिग, पीएसएल र क्यारेबियन प्रिमियर लिग खेलिसकेका छन् ।
सन् २०१६ मा हैदराबादले उपाधि जित्दा उनले सानदार प्रदर्शन गरेका थिए । एक सय ५० स्ट्राइक रेट रहेका बेनले एक सय ७० टी–ट्वेन्टीमा दुई हजारभन्दा धेरै रन बनाएका छन् । बलिङमा उनले एक सय २६ विकेट लिएका छन् । एनपीएल आगामी मंसिर-पुषमा हुनेछ ।