काठमाडौं । कतारका अक्रम अफिफ दोस्रो पटक एएफसी वर्ष खेलाडी घोषित भएका छन् । सियोलमा भएको एएफसीको वार्षीक अवार्ड समारोहमा जापानकी किको सेइकेले महिलातर्फको उपाधि जितिन् ।
यसअघि सन् २०१९ मा अवार्ड जितेका अफिफले घरेलु मैदानमा भएको एसियन कपको उपाधि सफलता पूर्वक रक्षा गर्न महत्वपूर्ण योगदान दिएका थिए । कतारलाई च्यम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेपछि उनलाई यो ट्रफी प्रदान गरिएको हो । २७ वर्षीय अल-सादका फरवार्ड एसियन कपको फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका थिए ।
उनले प्रतियोगिताभर आठ पटक गोल गरेका थिए । अफिफ सन् १९९७ र १९९८ मा जापानका हिदेतोशी नाकाता र २००८ र २०११ मा उज्वेकिस्तानका सर्भर जेपारोभ पछि दुई पटक एएफसी वर्ष खेलाडी घोषित हुने तेस्रो खेलाडी बनेका हुन् ।
किको सेइकेले अष्ट्रेलियाकी कोर्टनी वाइन र दक्षिण कोरियाकी किम हे-रीलाई पछि पार्दै महिलातर्फको अवार्ड जितिन् । फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पनि एसियाली फुटबलमा गरेको योगदानका लागि डायमण्ड अफ एसियाबाट सम्मानित गरिएको छ ।