काठमाडौं । सात खेलको जितविहीन यात्रामा पूर्ण विराम लगाउँदै नेपालले आईसीसी विश्वकप लिग -२ मा जित हासिल गरेको छ । ८ महिनापछि जित हात पार्ने क्रममा नेपालले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको हो ।
लिग २ मा नेपालले अन्तिम पटक फेब्रुअरी १७ मा नेदरल्यान्ड्सविरुद्ध घरेलु मैदानमा जित हात पारेको थियो । सानदार बलिङ गर्दै स्कटल्यान्डलाई विलोपार स्कोरमा रोक्न सफल नेपालललाई जित दर्ता गर्न कुनै समस्या भएन ।
आरिफ शेखले बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे । ग्राण्ड प्रेरी क्रिकेट स्टेडियम डालसमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । सुरुवाती ब्याटिङ थालेको स्कटल्यान्ड ४१ ओभर बलमा १ सय ५४ रनमा अल आउट भयो । १६ रन जोडेकाब्रेन्डन म्याकमुलेन १२ औं ओभरमा सन्दीप लामिछानेको एलबीडब्लू धरापमा परे ।
कप्तान रिची बेरिंग्टन र माइकल जोन्सले समान १९ रन बनाए । माइकल लिस्क १४ र म्याथ्यु क्रस १५ रनमा बाहिरिए । मार्क वाटले ४० बलमा ३ छक्कासहित सर्वाधिक ३४ रनको योगदान दिए । नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । करण केसी, सोमपाल कामी र गुल्सन झाले २-२ तथा आरिफ शेखको नाममा १ विकेट रह्यो । आरिफले २ क्याच समेत समातेका थिए ।
जवाफमा १ सय ५५ रनको सामान्य लक्ष्य नेपालले १ सय २१ बल बाँकी रहँदै ५ विकेट गुमाएर पुरा गर्यो । ओपनर अनिल साह १३, आसिफ शेख २१, कुशल मल्ल ७, कुशल भुर्तेल २५ र रोहित कुमार पौडेल १ रनमा आउट भए । छैटौं विकेटका लागी आरिफ शेख र गुलशन झाले ५१ बलमा अविजित ५७ रनको साझेदारी गरेका थिए । आरिफले ४२ बलमा ८ चौकासहित सर्वाधिक ५१ रनको अविजित इनिङ खेले । गुलशन ३० बलमा ३ चौका र १ छक्कासहित २५ रनमा नट आउट रहे ।
अलराउण्ड प्रदर्शन गरेका आरिफ प्लियर अफ दी म्याच घोषित भए । नेपाल पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । लिग २ मा नेपाल १० खेलमा २ मा जितसहित पाँच अंक जोडेको छ । नेपाल तालिकाको सातौं स्थानमा छ । स्कटल्यान्ड ९ खेलमा ११ अंकका साथ चौथो स्थानमा छ । नेपालले अब शनिबार अमेरिका र सोमबार स्कटल्यान्डसँग खेल्नेछ ।