साढे १५ हजार अट्ने रंगशालामा जब २० हजार भन्दाबढी दर्शक ओइरिए...

कार्तिक १२, २०८१ |प्रदीप लेखी
साढे १५ हजार अट्ने रंगशालामा जब २० हजार भन्दाबढी दर्शक ओइरिए...

काठमाडौं । समूहमा खेलिने फुटबल, क्रिकेट, भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा सामान्यतः दर्शकको अत्यधिक चाप हुन्छ तर पछिल्लो समय नेपाली फुटबलमा दर्शकको खडेरी परिरहेको अवस्थामा साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत खेल्दा दशरथ रंगशाला भरिभराउ भयो । रंगशालाको क्षमताभन्दा धेरै दर्शक पुग्दा क्यापासिटी क्राउड भएर आसपासको क्षेत्र नै अस्तव्यस्त बन्यो ।

यो हो नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला । १५ हजार ६ सय दर्शक क्षमताको रंगशालामा नेपाल र भारतको खेल हेर्न २० हजार दर्शक भित्रिएको अनुमान एन्फाको छ । टिकट नपाउने सयौँ दर्शक त रंगशाला बाहिरै बस्न बाध्य बने । खचाखच भरिएको रंगशालामा सिट पाउने त बसे, नपाउनले भने उभिएरै आफ्नो टिमको समर्थन गरे । नेपाली दर्शकले महिला फुटबलप्रति देखाएको समर्पण, दक्षिण एसियाली क्षेत्रकै धेरै रहेको खेलाडी र प्रशिक्षकले आकलन गरेका छन् ।

घरेलु फुटबल हुँदा यो रंगशालामा प्रायः दर्शकको खडेरी हुन्छ । तर अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा नेपालको खेलमा दर्शकको कमी भएको छैन । त्यसमाथि जब नेपाल सेमिफाइनल र फाइनल पुग्छ त्यसपछि यो रंगशालामा दर्शकको भिड थामी नसक्नु हुन्छ । खेलाडीलाई घरेलु मैदानमा खेल्नुको मज्जा पनि त यही नै हो । जहाँ घरेलु समर्थकको अपार माया, प्रेम र साथ हुन्छ । तर दर्शकको थामी न सक्नु भिडप्रति एन्फाले अपनाएको सचेतना काम लागेन ।

नेपाल-भारतको खेल भइरहेका बेला बीचमा विवाद भएपछि एक घण्टा रोकियो । तर समर्थकले धैर्यताका साथ रंगशालामा संयमता देखाए । नेपाली फुटबलप्रति दर्शकको यो लगावले खेलाडीलाई थप उत्साह थपेको छ । अब नेपाली दर्शकको चाहना छ- नेपालले बंगलादेशलाई हराएर च्याम्पियनसिप जितोस् । 

दुई वर्षअघि भएको च्याम्पियनसिपकै सेमिफाइनल र फाइनलमा दशरथ रंगशालाको क्यापासिटी क्राउड भएको थियो । त्यसपछि नेपाल सुपर लिगको फाइनलमा पनि रंगशाला भरी समर्थक उपस्थित भएका थिए । अहिले पनि रंगशाला दर्शकले भरियो । हरेक दर्शकको एउटै भनाइ थियो- नेपाली टोलीले फाइनलमा उत्कृष्ट खेलेर च्याम्पियनसिप जित्नुपर्छ ।

रंगशालामा पुग्ने दर्शक कसैले भुभुज्याला लिएका थिए त कसैले राष्ट्रिय झन्डा ।  कति दर्शक त धिमेबाजासहित उपस्थित भए । नेपालको जितपछि दर्शकको नाचगान पनि कुनै उत्सवभन्दा कम थिएन । अब बुधबार हुने नेपाल र बंगलादेशबीचको फाइनलमा यही उत्साहका साथ दर्शक रंगशाला भरिभराउ हुने अपेक्षा एन्फाको छ । जसले नेपाली टोलीमा थप ऊर्जा भर्ने छ ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।