आईसीसी विश्वकप लिग टू : अमेरिकामाथि स्कटल्यान्डको १० विकेटको जित

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी विश्वकप लिग टू : अमेरिकामाथि स्कटल्यान्डको १० विकेटको जित

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्गर्त गएराति भएको अमेरिका र स्कटल्यान्डबीचको खेलमा स्कटल्यान्ड १० विकेटले विजयी भएको छ । अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा स्कटल्यान्ड विजयी भएको हो ।

स्कटल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको अमेरिकाले निकै खराब सुरुआत गर्‍यो । उसले ३४ ओभर चार बलमा सबै विकेट गुमाएर एक सय ४४ रन बनायो । ओपनर सुसान्त मोदानी र एन्ड्रिस गउसले २१ रनको मात्र साझेदारी गर्न सके । सुसान्त ८ र गउस ५ रनमा आउट भए । १७ रन बनाउँदा पहिलो विकेट गुमाएको अमेरिकाले त्यसपछि कुनै रन थप गर्न नपाउँदै बाँकी चार विकेट गुमाएको थियो ।

कप्तान मोनांक पटेल, मुक्कमल र सयन जाहाङ्गीर शून्यमा आउट भए । अमेरिकाले ५९ रनमा नै ८ विकेट गुमाएको निकै कमजोर अवस्थामा पुगेको थियो । विकेट नभएको अवस्थामा पनि हरमित सिंहले २२ रन जोडे । आठौं नम्बरमा मैदान प्रवेश गरेका साडली भान विकले उत्कृष्ट पारी खेल्दै ५८ रनको शादारन इनिङ खेलेका थिए । अन्तिममा नोस्थुस केन्जिगेले २१ रन बनाएका थिए ।

स्कटल्यान्डका लागि ब्राड करीले चार, ब्रान्डल म्याकमुलेनले तीन र ब्राल विलले दुई विकेट आफ्नो नाममा गरेका थिए । जवाफमा एक सय ४५ रनको लक्ष्य स्कटल्यान्डले विना विकेट क्षति पूरा गर्यो । उसका लागि ओपनर एन्ड्रिउ उमिदले ७९ बलमा ९८ रन जोडेका थिए । त्यसक्रममा उनले १३ चौका र दुई छक्का प्रहार गरे । चाली टियरले पनि ४३ रनको योगदान गरे । अब लिग टूको शृंखला अन्तर्गत भोलि नेपालले अमेरिकासँग खेल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.