समूह बीको विजेता बन्दै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

कार्तिक ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
समूह बीको विजेता बन्दै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल समूह बीको विजेता बन्दै साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे । दशरथ रंगशालामा पहिलो हाफमै ४-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप २ गोल गर्यो । नेपाल सामु कमजोर देखिएको श्रीलंकाले पूरै खेल अवधिभर खासै मुभ बनाउन सकेन ।

खेलको आठौं मिनेटमा सविताको गोलमार्फत् नेपालले अग्रता बनायो । सावित्राले दायाँ विंगबाट मिलाउको बलमा सविताले सानदार फिनिस गरिन् । ११ औं मिनेटमा विमला विकले दिएको पासमा साबित्राले वान टचमै वल्र्ड क्लास गोल गरेपछि घरेलु टोलीले २-० को अग्रता बनायो ।

त्यसको २ मिनेटपछि अमिषा कार्कीको क्रसमा रेखाले ६ यार्ड बक्स नजिकबाट गोल गरिन् । ३७ औं मिनेटमा साबित्राले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई रेखाले ६ यार्ड बक्स नजिकबाट ब्याट हिल टचसहित गोल गरेपछि नेपालले ४-० को अग्रता लियो ।

दोस्रो हाफको सुरुवाती मिनेटमै नेपालले पाँचौं गोल थप्यो । सरुले दिएको छोटो कर्नरमा सविताले निकालेको क्रसलाई अमिषाले फिनिस गरिन् । इन्ज्युरी समयको दोस्रो मिनेटमा रश्मीले गोल गरेपछि नेपालले ६-० को विशाल जित हात पार्यो । यस जितले नेपाल समूह विजेता पनि भएको छ ।

नेपाल र भुटानको समान ७-७ अंक भए पनि गोलअन्तरमा नेपाल अघि रह्यो । यस हारपछि श्रीलंका समूह चरणबाटै घर फर्कियो ।

समूह बीको विजेता बन्दै नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनल प्रवेश गरेपछि नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टिमले अपेक्षित नतिजा हात पारेको प्रतिक्रिया दिएका छन् ।

श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपालले सेमिफाइनल यात्रा तय गरेपछि पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै प्रशिक्षक तामाङले टोलीले कम्तीमा ५ गोल अन्तरको जित हात पार्ने योजना बनाएको बताएका हुन् । साथै उनले दोस्रो हाफमा प्रिति राईको चोटले टिम केही समस्यामा परेको पनि बताए ।

यस्तै नेपालको तर्फबाट पहिलो गोल गर्दै प्लेयर अफ दी म्याच बनेकी सविता राना मगरले पनि टिमको रुपमा योजना पूरा हुँदा खुसी लागेको बताइन् ।

गोल अन्तरमा भुटानलाई पछि पार्दै समूह विजेता बन्न नेपालले आज श्रीलंकालाई ५ गोल अन्तरमा पराजित गर्नुपर्ने थियो । तर ६-० को फराकिलो जित हात पारेपछि नेपाल समूह बी को विजेताको रूपमा सेमिफाइनल पुगेको हो ।

साफ महिला च्याम्पियसिप २०२४ को सेमिफाइनल समीकरण पूरा

काठमाडौंमा जारी साफ महिला च्याम्पियसिप २०२४ को सेमिफाइनल समीकरण पूरा भएको छ । आज समूह अरणका अन्तिम खेल सकिएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।

समूह एबाट बंगलादेश र भारतले अन्तिम चारमा स्थान बनाउँदा समूह बीबाट नेपाल र भुटान अघि बढेका हुन् । बंगलादेश समूह एको विजेता तथा भारत उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेका हुन् ।

समूह बीबाट नेपाल विजेता र भुटान उपविजेता बने । २०२२ मा पनि यसै प्रकारको सेमिफाइनल समीकरण बनेको थियो ।

समूह चरणमा भारतले पाकिस्तानलाई ५-२ ले पराजित गर्दा बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । पाकिस्तानसँग १-१ गोलको बराबरी खेलेको बंगलादेशले भारतलाई हराएको थियो । समूह बीको पहिलो खेलमा नेपाल र भुटानले गोलरहीत बराबरी खेलेका थिए । त्यसपछि नेपालले माल्दिभ्सलाई ११-० र श्रीलंकालाई ६-० ले पराजित गरेको हो । भुटानले श्रीलंकालाई ४-१ र माल्दिभ्सलाई १३-० ले पराजित गरेको हो ।

अब आइतबार दुवै सेमिफाइनल खेल हुने छन् । पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान तथा दोस्रो सेमिफाइनलमा नेपाल र भारत प्रतिस्पर्धा गर्ने छन् । गत संस्करणमा पनि यीनै टोलीबीच सेमिफाइन हुँदा नेपालले भारतलाई १-० तथा बंगलादेशले भुटानलाई ८-० ले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।

फाइनलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । साफ महिला च्याम्पियनसीप २०२४ को फाइनल बुधबार हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.