इंग्लिस क्रिकेटर सेफ अलि जेबले सुदूरपश्चिम रोयल्सबाट खेल्ने

कार्तिक ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
इंग्लिस क्रिकेटर सेफ अलि जेबले सुदूरपश्चिम रोयल्सबाट खेल्ने

काठमाडौं । इंग्लिस क्रिकेटर सेफ अलि जेब नेपाल प्रिमियर लिगको पहिलो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । २६ वर्षीय बायाँ हाते अलराउन्डरसँग काउन्टी क्रिकेटको भरपुर अनुभव छ । गत महिना सम्पन्न इंग्ल्यान्डको टी-२० घरेलु प्रतियोगितामा नर्थान्ट्सबाट खेलेका सेफले काउन्टीको दोस्रो श्रेणीमा पनि नियमित खेल्दै आएका छन् ।

सन् २०१५ मा १६ वर्षको उमेरमा पहिलो श्रेणी क्रिकेटमा डेब्यु गरेपछि इंग्ल्यान्डका लागि उमेर समूह क्रिकेट पनि खेले । टी-२० करिअरमा १ सय ४० भन्दा माथिको स्ट्राइक रेटमा १२ सय रन जोडेका उनले पार्ट टाइम बलिङ गर्दै ३३ को औसतमा १२ विकेट लिएका छन् ।

रोयल्सले यसअघि पहिलो विदेशी खेलाडीका रुपमा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरिसकेको छ । त्यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टर छन् ।

दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेका सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक जगत टमाटा हुन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपीएल मंसिर १६ गतेदेखि सुरु हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.