पर्यटकीय क्षेत्र खुम्बुमा निकुन्जले हेलिकप्टरमाथि लगाएको प्रतिबन्ध नागरिक उड्यानले मानेन

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
पर्यटकीय क्षेत्र खुम्बुमा निकुन्जले हेलिकप्टरमाथि लगाएको प्रतिबन्ध नागरिक उड्यानले मानेन

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुन्जले पर्यटकीय क्षेत्र स्याङबोचे माथि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ ।

निकुन्जको कोर एरियामा हेलिकप्टर उडाउँदा वन्यजन्तुमा नकरात्मक असर गर्ने तथा ध्वनि प्रदूषण समेत हुने भएकाले स्याङबोचे भन्दा माथिको हिमाली क्षेत्रमा व्यवसायिक उडानमा रोक लगाएको प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले जानकारी दिनुभयो ।

निकुन्ज नेपाली सेनाको भगवती प्रसाद गुल्म र मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिको संयुक्त बैठक बसेर नै स्याङबोचे क्षेत्र भन्दा माथि व्यवसायीक उडान नगर्नका लागि नागरिक उड्यान कार्यालय लुक्लालाई बिहीबार पत्राचार गरेको छ । निकुन्जको कोर क्षेत्रमा दैनिक ५० भन्दा बढी हेलिकप्टर उडान तथा अवतरण हुँदा वन्यजन्तु तर्सिएर गाउँ पस्ने गरेको भन्दै निकुन्जले हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको रानाले बताउनु भयो ।

यता निकुन्जको परिपत्रलाई अटेरि गर्दै शुक्रबार बिहानै देखि स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा दर्जनौ हेलिकप्टरले उडान गरेका छन् । निकुन्ज र सरोकारवालाले निर्णय गरे पनि माथिल्लो हिमाली क्षेत्रमा हेलिकप्टरको उडान नरोकिएको हो ।

‘हाम्रो निर्णयलाई नागरिक उड्यानले अटेरि गरेर बिहानै देखि हेलिकप्टर उडाईरहेको छ’ राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत रानाले कान्तिपुरसँग भन्नुभयो, ‘माथिल्लो क्षेत्र संरक्षण एरिया र सम्वेदनशील हो, हामीले गरेको निर्णयलाई अटेरी गरे अब कानुन बमोजिम कारबाहीमा अगाडी बढ्छौँ ।’ उहाँका अनुसार अहिले स्याङ्बोचे, लबुचे, तेङबोचे, फेरिचे जस्ता ठाउँमा हेलिकप्टरले विदेशी ओसार पसार गरेर व्यवसायिक उडान गरिरहेका छन् । माथिल्लो क्षेत्रमा हुने हेलिकप्टरको व्यवसायिक उडानको स्थानीय सरकार र पर्यटन व्यवसायीहरुले पनि विरोध गर्दै आएका छन् । 

यता नागरिक उड्यान प्राधिकरणको लुक्ला कार्यालयले भने राष्ट्रिय निकुन्जको निर्देशन मान्नु पर्ने आवश्यकता नरहेको बताएको छ । आफ्नो तालुक निकाय राष्ट्रिय निकुन्ज नभएको भन्दै निकुन्जले भनेकै आधारमा हेलिकप्टरको उडानमा रोक लगाउन नसकिने नागरिक उड्यान कार्यालय लुक्लाका प्रमुख उमेश पन्थिले बताउनु भयो । ‘हामीलाई नागरिक उड्यान प्राधिकरणबाट परिपत्र आयो भने कार्यान्वयन गर्ने हो, अन्य निकायको परिपत्र हामीलाई कार्यान्वयनको बाध्यता हुँदैन’ प्रमुख पन्थिले कान्तिपुरसँग भन्नुभयो । शरद ऋतुको मुख्य सिजन भएकाले अहिले १० हजार भन्दा बढी पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा छन् भने दैनिक सैयौँको संख्यामा निकुन्ज क्षेत्र भित्र हेलिकप्टरले विदेशी ओसारपसारको काम गरिरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.