डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिर्ने ४४ उद्योगको लाइन काटियो

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिर्ने ४४ उद्योगको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको विजुलीको महसुल नतिरेका उद्योगको लाइन धमाधम काट्न थालेको छ ।

तीन महिना भित्र बक्यौता तिर्ने सर्तका साथ जोडेकोमा तिर्न चासो नदेखाएका ४४ उद्योगको लाइन विद्युत प्राधिकरणले काटेको हो । हिजो साँझ डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै दाङस्थित घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बाबा जुटमिल लगायत उद्योगको बिजुली काटेको प्राधिकरणले जनाएको छ ।

यसअघि हिजो दिउँसो महसुल नतिरेका उद्योगीसँग छलफल गर्दै प्राधिकरणले किस्तामा रकम बुझाउन भनेको थियो । तर उद्योगीले भने किस्तामा रकम बुझाउन सक्ने वा नसक्ने बारेमा ठोस जवाफ दिएका थिएनन् । अन्य उद्योगीसँगै छलफल गरेर प्राधिकरणलाई यसको जवाफ दिने भन्दै उनीहरु बाहिरिएका थिए ।

२०७२ माघदेखि २०७५ बैशाखसम्म उद्योगीले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता ६ अर्ब ६० करोड छ । तर विद्युतको बिल तिर्न ६० दिन कातिसकेकाले त्यसमा २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न उद्योगीहरुलाई प्राधिकरणको निर्देशन थियो । गत असोज २४ मा प्राधिकरणले ४९ उद्योगले थप दस्तुरसहित तिर्नुपर्ने विद्युत महशुल कार्तिक ८ भित्र बुझाउन र महशुल नतिरे कानुन बमोजिम असुल गर्ने सूचना सार्वजनिक गरेको थियो । उद्योगीलाई बक्यौता तिर्न दिएको समय हिजो सकिएसँगै प्राधिकरणले उद्योगको बिजुली काट्न थालेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.