अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपाललाई, रोमान्चक सुपर ओभरमा सोमपालको जादुमय बलिङ

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपाललाई, रोमान्चक सुपर ओभरमा सोमपालको जादुमय बलिङ

काठमाडौं । टी-२० आई सिरिजमा नेपालले अमेरिका माथि दोस्रो जित निकालेको छ । ३ खेलको सिरिजमा २ खेल जितेसँगै नेपालले सिरिज आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

टेक्ससको डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले ६ विकेटको नोक्सानीमा १ सय ७० रनको योगफल बनायो ।

जवाफमा अमेरिकाले ८ विकेट गुमाएर एक सय ७० रन नै बनाएपछि खेल सुपर ओभरमा गएको हो। पहिलो पारीमा कुशल भुर्तेलले अविजीत ९२ रनको शानदार इनिङस खेलेपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्‍यो। ओपनर आसिफ शेख १ रनमा नै मैदान बाहिरिए । त्यतिबेला नेपालको स्कोर बोर्डमा मात्र ११ रन थियो । अर्का ओपनर अनिल साह २५ रनमा आउट भए ।

गुल्सन झाले १९ र कप्तान रोहित पौडेलले १८ रन जोडे । दिपेन्द्र सिंह ऐरी आज मात्र दुइ रनमा पभेलियन फर्किए । तर कुशलले आक्रमक ब्याटिङ गर्दै ५४ वलमा अविजीत ९२ रनको योगदान गरे । उनले ३३ वलमा टि ट्वान्टी आइमा आफ्नो नवौ अर्धशतक प्रहार गरेका थिए । उनले तस्रो नम्बरमा ब्याटिङमा आएर बनाएको यो पहिलो अर्धशतक हो । कुशलले सात चौका र ६ छक्का प्रहार गरे । जस्दिप सिंह र नस्तुस केजिंगेले २-२ विकेट लिए ।

जवाफमा अमेरिकी कप्तान मोनांक पटेल एक रनमै आउट भए पनि अर्का ओपनर सेतेजा मुकमल्लाले ४७ रनको उत्कृष्ट पारी खेले। त्यसैगरी शीर्ष क्रमका एन्ड्रिस गाउसले ४३ बलमा ६२ रन बनाए। अन्तिममा आसिफ शेख र दिपेन्द्रले जसदिप सिंहलाई रन आउट गराएको भए पनि अमेरिकाले १ सय ७० रन बनाएर खेललाई सुपर ओभरमा पुर्याएको हो।

अमेरिकाविरुद्ध करणा केसीले तीन विकेट लिए भने सोमपाल कामीको अन्तिममा ओभरमा नेपालले दुई विकेट लिन सफल भयो। सुपर ओभरमा पनि सोमपालले दुई विकेट लिएपछि अमेरिकाले दुई रन मात्र बनाउन सक्यो। कुशल र दिपेन्द्रले चार बलमा तीन रन पुरा गरेर नेपालले सिरिज जितेको हो। पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । दोस्रो खेल भोलि विहान हुनेछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.