नेपाल र अमेरिकाबीच टी-ट्वेन्टी आई सिरिजको दोस्रो खेल भोलि, कान्तिपुर म्याक्समा प्रत्यक्ष प्रसारण

कार्तिक ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र अमेरिकाबीच टी-ट्वेन्टी आई सिरिजको दोस्रो खेल भोलि, कान्तिपुर म्याक्समा प्रत्यक्ष प्रसारण

काठमाडौं । नेपाल र अमेरिकाबीचको दोस्रो टी–ट्वेन्टी आई भोलि बिहान हुँदैछ । तीन खेलको सिरिजमा नेपाल एक–शून्यले अघि छ । टेक्सस डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान पौने ६ बजे सुरु हुनेछ । यो खेलको कान्तिपुर म्याक्स एचडीले प्रत्यक्ष प्रसारण गर्नेछ ।

नेपाल, एक खेल अगावै सिरिज जित्ने लक्ष्यमा हुनेछ । रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अल राउन्ड प्रदर्शन गरेपछि हिजो भएको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । सुरुवाती ब्याटिङ गरेको नेपालले नौ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

रोहितले ४९ र दीपेन्द्रले १७ वलमा २८ रन बनाएका थिए । जवाफमा अमेरिका सात विकेटको नोक्सानीमा १ सय ४७ रनमा रोकियो । प्लेयर अफ द म्याच बनेका दीपेन्द्रले तीन विकेट लिएका थिए । क्यानडा भ्रमणमा ओडीआई र टी–ट्वेन्टीमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि आलोचित भएको नेपाल यो सिरिज जित्दै पुनरागमन गर्न चाहन्छ ।

अमेरिका भने पहिलो खेलको नतिजा उल्ट्याउँदै नेपाललाई सिरिज च्याम्पियन बन्नबाट रोक्ने प्रयासमा हुनेछ । पहिलो खेलमा उसका लागि तल्लो क्रमका ब्याटर सायन जाहिंगरले अविजीत ६० रन बनाउनु बाहेक अन्यको प्रदर्शन राम्रो हुन सकेको थिएन । 

यो सिरिजपछि नेपालले अमेरिका एसँग ५० ओभरको अभ्यास खेल खेल्नेछ । कात्तिक ९ गतेदेखि डालासमा नै नेपालले अमेरिका र स्कटल्यान्डसँग लिग-टू सिरिज खेल्ने तालिका छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.