नेपाल-अमेरिका टी-२० आई सिरिज : टस जितेर ब्याटिङ गर्दै नेपाल

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल-अमेरिका टी-२० आई सिरिज : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । भर्खरै सुरु भएको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

तीन खेलको टी-२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल अहिले बिहान ५:४५ बजे सुरु भएको हो । 

यसअघि पहिलो खेलमा नेपालले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । यस्तै ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले समान २७ रन बनाए । दीपेन्द्रसिंह ऐरी २८, गुलसनकुमार झाले ११ र कुशल भुर्तेलले १० रन बनाए । बलिङतर्फ अमेरिकाका सौरभ नेत्रावलकर, जसदीप सिंह र हरमित सिंहले दुई दुई विकेट लिए ।

नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४७ रन मात्रै बनाउन सक्यो । अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० रन बनाए । यस्तै, अन्द्रेस गौसले ३०, मलिन्द कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले तीन तथा रिजन ढकाल, करण केसी र गुलसनकुमार झाले एक/एक विकेट लिए । 

खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्ससहित कान्तिपुर टेलिभिजनका डिजिटल प्लेटर्फममा हेर्न सकिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.