धुर्मुस-सुन्तली फाउन्डेसनले अलपत्र छाडेको चितवनको क्रिकेट रंगशाला भरतपुर महानगरले धमाधम बनाउँदै

कार्तिक १, २०८१ |राजु चौधरी
धुर्मुस-सुन्तली फाउन्डेसनले अलपत्र छाडेको चितवनको क्रिकेट रंगशाला भरतपुर महानगरले धमाधम बनाउँदै

काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले अलपत्र छोडेपछि भरतपुर महानगरपालिकाको स्वामित्वमा आएको चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पुनः निर्माणको काम धमाधम भइरहेको छ । भरतपुर महानगरपालिका-१५, रामपुरमा रहेको रंगशालको दुई महिना अघिदेखि सुरु भएको निर्माणको काम दशैंअघिसम्म १० प्रतिशत सकिएको छ ।

रंगशालामा दुई वटा भीआईपी टावर र प्याराफिट निर्माणको काम चलिरहेको छ । भीआईपी टावर-१ को फुटिङ बिमको ढलान सकिएको छ भने टावर-२ को ६ वटा फुटिङ ढलान गरिएको छ । प्याराफिटतर्फ स्ट्यान्ड १ र २ को पीसीसी ढलान सकिएको छ भने स्ट्यान्ड ३ र ४ को १८ वटा कोठाको पीसीसी ढलान बाँकी छ ।

निर्माण कम्पनीलाई दुई महिनाको अवधिमा प्रतिकूल मौसमले काममा धेरै बाधा पुर्‍यायो । पछिल्लोपटक परेको भारी वर्षाले केही दिन काम नै रोकियो । दुईवटा टावरको काम गर्दा खाल्डोमा पानी जम्दा साइट क्लियर गर्नै समय लाग्यो । मैदानको काम पनि वर्षाले रोक्यो । 

धुर्मुस-सुन्तली फाउन्डेसनले घाँस रोपेर तयार पारेको मैदानबाट अहिले माथिल्लो भाग केही सफा गरिएको छ । मैदान सुख्खा भएपछि मात्रै नयाँ घाँस रोप्ने र मैदान बनाउने काम अघि बढ्नेछ । रंगशालामा भइरहेका कामको निगरानी महानगरले नै गर्दै आइरहेको छ । महानगर प्रमुख रेनु दाहाल आफैं निरीक्षणमा खट्ने गर्नुभएको छ ।

रंगशालामा गुणस्तरीय काम गर्न महानगरले पनि आफ्नो छुट्टै प्राविधिक टोली आवासीय रुपमै खटाएको छ । निर्माण कम्पनीका प्राविधिक र महानगरका प्राविधिकले कामको गुणस्तर जाँच गरिरहेका छन् ।

रंगशाला निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले दुईवटा भीआईपी टावर, १० हजार क्षमताको प्याराफिट, मैदान र पीच निर्माणको काम गर्नेछ । धुर्मुस-सुन्तली फाउन्डेसनले यसअघि नै ५ हजार क्षमताको प्याराफिट निर्माण गरिसकेकाले यो काम सकिएपछि रंगशालाको कुल क्षमता १५ हजार पुग्नेछ । गत असार २३ गते ७८ करोड ५० लाखमा ३० महिनाभित्रमा काम सक्नेगरी भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौता मितिभन्दा अगाडि नै काम सक्ने निर्माण कम्पनीको दाबी छ ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।