प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा खुला शारीरिक सुगठन प्रतियोगिता हुँदै

जेष्ठ १७, २०८२ |खेल ब्युरो
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा खुला शारीरिक सुगठन प्रतियोगिता हुँदै

काठमाडौं । स्व. प्रकाश दाहाल र स्व. ज्ञानु दाहालको स्मृतिमा स्थापित सामाजिक संस्था प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २४ गते प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । काठमाडौंस्थित नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा प्रतियोगिता आयोजना हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद विकास परिषद् बागमती (हेटौंडा), नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ र काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा आयोजना गरिने उक्त प्रतियोगितामा देशभरबाट करिब १ सय जना महिला र पुरुष खेलाडीहरूको सहभागिता रहने अनुमान गरिएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ५ वटा तौल समूह ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथिको वर्गमा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ खुला तौल वर्गमा प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ प्रत्येक समूहका विजेताले ५ हजार दोस्रो स्थान हासिल गर्नेले ४० हजार तेस्रो स्थान प्राप्त गर्नेले ३० हजार तथा चौथो र पाँचौं स्थान हासिल गर्ने खेलाडीले २० हजार र १० हजार नगद प्राप्त गर्ने छन् ।

महिलातर्फको खुला प्रतिस्पर्धामा प्रथम हुनेलाई १ लाख, द्वितीयलाई ५० हजार, तृतीयलाई ३० हजार, चौथो स्थान हासिल गर्नेलाई २० हजार र पाँचौं हुनेलाई १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ ।

साथै, ‘प्रथम मिस्टर प्रज्ञा स्मृति’ को उपाधिका लागि प्रत्येक तौल वर्गका विजेता खेलाडीहरूबीच प्रतिस्पर्धा गराइनेछ । जसमा उत्कृष्ट बन्ने खेलाडीलाई २ लाख ५० हजार रुपैयाँ, ट्रफी र ब्यानरसहित सम्मान गरिने प्रतिष्ठानले जानकारी गराएको छ ।

प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख १० हजार रहेको छ भने कार्यक्रमको अनुमानित कुल लागत ३५ लाख ३५ हजार रहेको जनाइएको छ । प्रतिष्ठानले विगतमा भरतपुरमा तीन संस्करणसम्मको साइक्लिङ प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

प्रतिष्ठानले यस प्रतियोगितामार्फत शारीरिक सुगठन जस्तो अनुशासनात्मक र कलात्मक खेलको प्रवर्द्धन गर्दै स्वास्थ्य, आत्मविश्वास र खेलकुद विकासमा योगदान दिने विश्वास लिएको जनाएको छ ।