काठमाडौं । नेपाली राष्ट्रिय पुरूष क्रिकेट टिम र स्कटल्यान्ड 'ए' बीचको दोस्रो अभ्यास खेल वर्षाका कारण रद्द भएको छ ।
वर्षाकै कारण टस ढिलो हुँदा खेल पाँच ओभर घटाएर ४५ मा झारिएको थियो । घरेलु टिम विरूद्ध टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले नौं विकेट गुमाएर दुई सय ७१ रनको योगफल बनाएको थियो । ओपनर आसिफ शेखले खाता खोल्न सकेनन् । अर्का ओपनर कुशल भुर्तेलले ३१ रन जोडे ।
आरिफ शेख पनि शुन्यमा पभेलियन फर्किए । दिपेन्द सिंह ऐरी पनि गोल्डेन डक आउट भएका थिए । नेपालको इनिङसमा भिम सार्कीले ५७, कप्तान रोहित पौडेलले ६१ र गुल्सन झाले ६४ रनको योगदान दिए ।
जेम्स डिकिन्सन, डाभिडसन र जिटी मेनले २-२ विकेट लिए । दोस्रो इनिङस भने पानीका कारण पुरा हुन सकेन् । खेल स्थगित हुनु अघि स्कल्यान्ड 'ए' ले १३ ओभरमा तीन विकेट गुमाएर ६४ रन बनाएको थियो ।
सोमपाल कामीले दुई र रिजन ढकालले एक विकेट लिएपछि स्कटल्यान्ड दबाबमा आएको थिया । तर, वर्षा नरोकिँदा खेल स्थगित हुन पुग्यो । पहिलो अभ्यास खेलमा नेपाल एक सय दुई रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
योसँगै नेपालले विश्व क्रिकेट लिग टु को तयारी पुरा गरेको छ । नेपालले घरेलु टिम स्कटल्यान्ड र नेदरल्यान्डससँग लिग टु को चौथो चरणको सिरिज खेल्न लागेको हो ।
नेपालले पहिलो खेल भोली स्ककल्यान्ड विरूद्ध खेल्दैछ । नेपाल १२ खेलबाट मात्र ६ अंक जोड्दै तालिकाको पुच्छार अर्थात् आठौं स्थानमा छ । अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट लको नेतृत्वमा नेपाल यो सिरिजमार्फत् पुनरागमनको प्रयासमा छ । १६ खेलबाट २० अंक बनाएको स्कटल्यान्ड चौथो स्थानमा छ ।
दोस्रो स्थानमा रहेको नेदरलयान्डसको २० खेलबाट २६ अंक छ । तालिकाको शीर्ष स्थानमा अमेरिका छ । उसको २० खेलबाट २८ अंक छ ।