आईपीएलको दोस्रो क्वालिफायर्समा आज पञ्जाब र मुम्बई भिड्दै

नतिजापछि बैगलुरूसँग फाइनल खेल्ने टोलीको टुङ्गो लाग्ने
जेष्ठ १८, २०८२ |खेल ब्युरो
आईपीएलको दोस्रो क्वालिफायर्समा आज पञ्जाब र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२५ को दोस्रो क्वालिफायर्समा आज पञ्जाब किंग्स र मुम्बई इन्डियन्स आमनेसामने हुँदैछन् । यस खेलको नजितपछि रोयल च्यालेञ्जर्स बैगलुरूसँग फाइनल खेल्ने टोलीको टुङ्गो लाग्ने छ ।

मुम्बईले आफ्नो छैठौं उपाधि यात्रा अगाडि बढाउने लक्ष्य राखेको छ भने पञ्जाब दोस्रोपटक फाइनल पुग्ने योजनामा छ । मुम्बईले एलिमिनेटरमा गुजरात टाइटन्सविरूद्ध आक्रामक ब्याटिङ र अनुशासित बलिङ प्रदर्शन गर्दै सहज जित हात पारेको थियो । पहिला ब्याटिङ गर्दै २ सय २८ रन बनाएको थियो । रोहित शर्माको ८१ रनको इनिङ्स र जोनी बेरेस्टको विस्फोटक सुरूआतले मुम्बईलाई बलियो योगफल बनाउन सहयोग गरेको थियो ।

जस्प्रीत बुमराहको सटीक योअर्कर र अश्विनी कुमारको संयमित बलिङले गुजरात २० रनले पछि पार्दै प्रतियोगिताबाट बाहिरिएको थियो । पहिलो क्वालिफार्यसमा बैंगलुरूविरूद्ध ब्याटरहरू नचल्दा १ सय १ रनमा आलआउट भएको पञ्जाबले लिग चरणमा शीर्ष स्थानमा रहेर समाप्त गरेको थियो । 

बैगलुरूसँग ८ विकेटले परिजित भएपनि उसले दोस्रो अवसर पाएको हो । सो खेलमा उसका अधिकांश ब्याटर खराब सट छनोटको सिकार भएका थिए । राम्रो लयमा रहेका प्रियान्स आर्या, प्रभसिम्रन सिंह र कप्तान श्रेयस अय्यर आक्रमक बन्ने धुनमा सहज सिकार बन्दै बाहिरिएका थिए ।

सन् २०१४ मा कोलकाता नाइट राइडर्ससँग क्वालिफायर्स १ गुमाएको पञ्जाबले त्यसैवर्ष चेन्नई सुपर किंग्सलाई हराएर पहिलोपटक फाइनल खेलेको थियो । यद्यपि फाइनलमा पुनः कोलकातासँग पराजित भएको थियो । उसका लागी त्यो मात्रै हालसम्म खेलेको फाइनल थियो ।

११ प्लेअफसहित ६ पटक आईपीएलको फाइनल खेलेको मुम्बईले पाँच पटक उपाधि जितिसकेको छ । २०११ र २०२३ मा मात्र उ क्वालिफायर्स टुमा पराजित भएको थियो । सन् २०१३ र २०१७ मा मुम्बईले क्वालिफायर्स वान गुमाएर क्वालिफायर्स टुमार्फत् फाइनल पुगेको थियो र दुबै पटक उपाधि उचालेको थियो ।

आईपीएल इतिहासमा यी दुई टोलीबीच ३२ पटक प्रतिस्पर्धा भएका छन । जसमा मुम्बईले १७ र पञ्जाबले १५ खेल जितेको छ । आईपीएल २०२५ मा यी दुईले एकअर्काविरुद्ध एक-एक खेल जितेका छन । 

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दोस्रो क्वालिफायर्स नेपाली समय अनुसार राति पौने ८ बजे सुरू हुने छ । फाइनल खेल मंगलबार खेलिने छ । प्रतियोगिताको  'प्री-म्याच एनालाईसीस'सहितको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट भइरहेको छ ।