बिहीबारदेखि दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप सुरु हुँदै, वर्षाको सम्भावना कति ?

आश्विन २९, २०८१ |खेल ब्युरो
बिहीबारदेखि दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप सुरु हुँदै, वर्षाको सम्भावना कति ?

काठमाडौं । सातौं संस्करणको साफ महिला च्याम्पियनसिप बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदैछ । फुटबल पारखी भने फेरि पानी परेर दशरथ रंगशाला हिलाम्ये बनाउने त होइन भनेर चिन्तित छन् । तर यस पटक भने मौसमविद्ले प्रतियोगिताका क्रममा वर्षाको सम्भावना नभएको बताएका छन् । सोही कारण एन्फाले ढुक्क भएर रंगशालामै पुगेर आफ्नो टिमलाई समर्थन गर्न अपिल गरेको छ । 

जब फुटबलका कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुन्छन्, नेपाली फुटबलप्रेमीहरुका लागि कुनै चाडपर्वभन्दा कम माहोल बन्दैन । हरेक पटक सबैको एउटै चिन्ता हुन्छ- कतै पानी पर्ने त होइन ? ठूलो पानी परेर मैदान हिलाम्ये बनाउने त होइन ? मैदानको दुरावस्थाका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बेइज्जत हुने गरेकाले आमनेपालीलाई चिन्ता हुनु स्वाभाविक हो । तर साफ महिला च्याम्पियनसिपका क्रममा वर्षाको सम्भावना नरहेको पूर्वानुमान छ ।

दशरथ रंगशालामा पानी निस्कासन हुने प्रणालीसमेत नहुनु र त्यसको विकल्पसमेत नहुनाले अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा वर्षा हुँदा नेपालका लागि टाउको दुखाईको विषय बन्दै आएको छ । उपत्यकाभित्र रहेको च्यासल मैदान हरेक वर्ष बाढीको चपेटामा पर्छ । 

एन्फाले अन्तिम विकल्पको रुपमा सादोबाटोको मैदान प्रयोग गर्ने भए पनि एस्टो टर्फमा खेल्न टिमहरु खासै रुची राख्दैनन् । यस पटक भने साफ महिला च्याम्पियनसिपका सबै खेल दशरथ रंगशालामै हुने भएकाले एन्फाले प्रत्यक्ष सहभागी भएर आफ्नो टिमलाई समर्थन गर्न अपील गरेको छ ।

गत साउन ३० गते एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबीचको खेलमा वर्षाले मैदानलाई पुरै हिलाम्ये बनाउँदा नेपालको चौतर्फी आलोचना भएको थियो । 

साफ यू-२० च्याम्पियनसिपका लागि रंगशालाको निरीक्षण गर्न आएका एएफसीका म्याच कमिसनरले मैदान अयोग्य ठहर गरेपछि प्रतियोगिता नै एन्फा मुख्यालयमा सारियो । त्यसपछि भने दशरथ रंगशालामा एन्फा महिला लिगको प्रारम्भिक चरणका ४५ मध्ये ४ खेल दशरथ रंगशालामा भए ।