यूएफा नेसन्स लिगमा आज राति पोर्चुगलले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै

आश्विन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
यूएफा नेसन्स लिगमा आज राति पोर्चुगलले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । पोर्चुगल राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक रोबर्टा मार्टिनेजले, क्रिस्टियानो रोनाल्डो साधारण खेलाडी नभएको प्रतिक्रिया दिएका छन् ।

नेसन्स लिगअन्तर्गत स्कटल्यान्डसँगको अवे खेल अघि मार्टिनेजले आफ्नो कप्तान रोनाल्डोको प्रदर्शनमा जोड दिएका हुन् । उनले, सामान्यतय ३९ वर्षको उमेरमा खेलाडी खेल्न नआउने बताउँदै रोनाल्डो फरक रहेको उल्लेख गरेका हुन् ।

अघिल्लो खेलमा पोल्यान्डमाथि तीन-एकको जित हात पार्दा सब्सिच्यूट हुनुअघि रोनाल्डोले गोल गरेका थिए । जारी नेसन्स लिगको सुरुवाती तीन खेलमा रोनाल्डोले तीन गोल गरेका छन् । युरोकपमा सुरुवाती एघारमा विकल्प हुँदा पनि रोनाल्डोलाई विश्वाश गरेको भन्दै मार्टिनेजको आलोचना भएको थियो ।

युरो २०२४ को क्वाटरफाइनलबाट बाहिरिएको पोर्चुगलका लागि रोनाल्डो गोल गर्न असफल भएका थिए । लिग ए को ग्रुप वानमा रहेको पोर्चुगल तीन खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । पुछारमा रहेको स्कटल्यान्डले अंकको खाता खोल्न सकेको छैन । तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका क्रोएशिया र पोल्यान्ड पनि आजै आमने सामने हुनेछन् ।

पोलिस मिडफिल्डर पियोटर जेलेन्स्कीले, क्रोएशियन कप्तान लुका मोड्रिचको क्षमता र फुटवल स्किल्सको प्रशंसा गरे । प्रशिक्षक मिखाल प्रोबेर्जले, क्रोएशिया विरुद्ध उत्कृष्ट डिफेन्स आवश्यक रहेको उल्लेख गरे । यस्तै क्रोएशियाका प्रशिक्षक ज्लात्को डेलिच र खेलाडी आन्द्रे क्रामारिचले कठिन खेलका लागि आफ्नो टोली तयार रहेको बताए । यो खेल दुवै टिमका लागि महत्वपूर्ण रहेको डेलिचको भनाइ छ । उनले पोलिस स्ट्राइकर रोवर्ट लेवान्डोस्की आफूहरुका लागि खतरनाक रहेको पनि उल्लेख गरे ।

स्पेनले सर्वियासँग प्रतिस्पर्धा गर्नेछ । १७ वर्षीय लेमिन यामलले भने चोटका कारण सर्वियासँगको खेल गुमाएका छन् । स्पेन तीन खेलबाट ७ अंक जोड्दै ग्रुप फोरको शीर्ष स्थानमा छ । यस्तै आजै डेनमार्कले स्विटजरल्यान्डसँग खेल्नेछ । सबै खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.