नेसन्स लिगमा बेल्जियमविरुद्ध फ्रान्सको रोमाञ्चक जित

आश्विन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेसन्स लिगमा बेल्जियमविरुद्ध फ्रान्सको रोमाञ्चक जित

काठमाडौं । रान्डल कोलो मुनिले दुई गोल गरेपछि फ्रान्सले यूईएफए नेसन्स लिगमा बेल्जियमविरुद्ध २-१ को रोमाञ्चक जित हात पारेको छ ।

पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड कोलो मुनिले १ गोल पेनाल्टी मार्फत गर्दा अन्तिम १४ मिनेट फ्रान्स १० खेलाडीमा सीमित भएको थियो । यस हारसँगै बेल्जियमले अघिल्लो चरण पुग्न रेलिगेसन प्रमोशन प्लेअफको सामना गर्नु पर्ने सम्भावना बढेको छ ।

३५ औं मिनेटमा वाउट फेसले बक्सभित्र बललाई हृयान्डल गर्दा भिडियो असिस्टेन्ट रेफ्री भिएआरको सहयोगमा फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो । कोलो मुनिले उक्त अवसरको भरपुर फाइदा उठाए ।

बाउडोइन स्टेडियममा घरेलु टोलीले पहिलो हाफको अतिरिक्त समयमा बराबरी गोल फर्कायो । टिमोथी कास्टग्नेको क्रसमा लेस ओपेन्डाले गोल गर्दै घरेलु टोलीका लागि पुनरागमनको प्रयास गरेका थिए । असिस्टेन्ट रेफ्रिले ओपेन्डालाई अफसाइड कराकर गरेपनि भिएआर परिक्षणले उनको निर्णयलाई खारेज गर्दै गोलको मान्यता दियो । तर ६२ औं मिनेटमा कोलो मुनिले दोस्रो गोल थपेपछि घरेलु समर्थक माझ बेल्जियम स्तब्ध भयो ।

७६ औं मिनेटमा अरेलिन चोमेनी दोस्रो पहेँलो कार्डमा मैदान छाड्न बाध्य भएपछि फ्रान्स १० खेलाडीमा सीमित भयो । तर त्यसले खेलको नतिजामा भने कुनै प्रभाव पारेन । लिग ए ग्रुप टुको अर्को खेलमा इटालीले इजरायललाई ४-१ ले सहजै पराजित गर्यो ।

यससँगै यस समूहमा अपराजित इटाली ४ खेलमा १० अंक सहित शीर्ष स्थानमा छ । समान खेलमा ९ अंक रहेको फ्रान्स र ४ अंक जोडेको बेल्जियम क्रमस दोस्रो र तेस्रो स्थानमा छन् । अंक विहीन इजरायल पुछारमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.