युरोपको भिसा त्यागेर भैंसी पालनमा जमेका काशीराम

आश्विन २९, २०८१ |मनोज पौडेल
युरोपको भिसा त्यागेर भैंसी पालनमा जमेका काशीराम

कपिलवस्तु । लगन, सीप र क्षमता भयो भने विदेश जानुपर्दैन गाउँघरमै बसेर राम्रो आयआर्जन गर्न सकिन्छ भन्ने उदाहरण कपिलवस्तुका युवा काशीराम भट्टराईले पेस गर्नुभएको छ । ०७५ सालमा पोल्यान्डको भिसा पाएका बुद्धभूमि नगरपालिका धमौलीका २८ वर्षे काशीराम विदेश नगएर स्वदेशमै भैंसीपालन गरिहनुभएको छ ।

काशीराम सबेरै उठेर भैंसीको स्याहारसुसार गर्नुहुन्छ । दुध दुहुनुहुन्छ । आफ्नै चिस्यान केन्द्रमा पुर्‍याउनुहुन्छ । अरुले ल्याएको दुध पनि किनेर बच्न डेरी उद्योग पठाउनुहुन्छ । काशीराम अहिले भैंसीपालनमा जम्नुमात्रै भएको छैन दुग्ध उद्यमी नै बन्नुभएको छ । युरोपको भिसा माया मारेका काशीराम भैंसीलाई घाँस काट्ने, गोबर सोहर्ने दानापानी दिने सबै काम आफै गर्नुहुन्छ । इलेक्टि्रकल सबओभरसियर उहाँको पढाइको विषय हो ।

०७६ मा घरमा दुइटा भैंसी थिए । कासीरामले बलिभद्र सृजनशील भैंसी फार्म दर्ता गरेर दुईटा भैंसी थपेर ४ वटा बनाउनुभयो । अहिले गोठमा ३६ वटा गाईभैंसी छन् । माउभैंसी १७, पाडापाडी १५, जर्सीगाई ३ र बीउको लागि एउटा राँगो छ । चार लाख लगानी गरेर सुरु गरेको व्यवसाय अहिले एक करोड ३० लाख बढीको पुगेको छ । गोटाको १० लाखमा ? भारतको हरियानाबाट ५ वटा मुर्रा भैंसी ल्याउनुभएको छ ।

हाल उहाँ मासिक एक लाख बढी आम्दानी गर्नुहुन्छ । वर्षको २४/२५ लाखको कारोबार छ । १०/११ लाख जति खर्च हुन्छ । सबै चौपायाको बिमा छ । संघीय सरकारले ८० प्रतिशत अनुदान दिएको छ । बाँकी २० प्रतिशतको ठूलो हिस्सामा स्थानीय तहले अनुदान दिएर काममा उत्साह थपेको छ । युरोप किन गइनँ भनेर पछुताउने अवस्था नभएको उहाँ खुसी हुँदै सुनाउनुहुन्छ ।

उहाँले बर्दियामा पनि चिस्यान केन्द्र खोल्नुभएको छ । बर्दियाको बारबर्दियामा पनि दुध संकलन केन्द्र छ । अहिले कपिलवस्तुमा दैनिक ३ सय र बर्दियामा ७ सय लिटर दुध संकलन हुन्छ ।

भैंसीपालनबाट भएको आम्दानीले उहाँले ५० लाख लगानी गरेर दुईवटा आधुनिक गोठ बनाउनुभएको छ । ३५ मेटन भुस अट्ने गोदाम छ । ३५ कठ्ठामा घास खेती गर्नुभएको छ । वर्षको दुई लाखको त गोबर नै बिक्री हुन्छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।