अफ्रिका कप अफ नेसन्स : लिबियाविरुद्धको खेल बहिस्कार गर्दै स्वदेश फर्कियो नाइजेरियन टिम

आश्विन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
अफ्रिका कप अफ नेसन्स : लिबियाविरुद्धको खेल बहिस्कार गर्दै स्वदेश फर्कियो नाइजेरियन टिम

काठमाडौं । नाइजेरियाको फुटबल टोलीले अफ्रिका कप अफ नेसन्सको क्वालिफायरअन्तर्गत लिबियाविरुद्धको खेल बहिस्कार गरेर स्वदेश फर्किएको छ ।

नाइजेरिया सोमबार घर फर्किएको हो । दुई देश बिचको खेल आज बेनगाजी सहरमा खेलिने तालिका थियो । तर नाइजेरियाले खेल स्थलबाट टाढाको विमानस्थलमा घण्टौँसम्म आफूहरुलाई बेवास्ता गरेर छाडिएको बताउँदै खेल नखेली आफ्नो देश फिर्किएको रोयर्टसले जनाएको छ ।

नाइजेरियाले आफूलाई खेल स्थलबाट २ सय ५० किलोमिटर टाढाको विमानस्थलमा १६ घण्टाभन्दा बढी समयसम्म बेवास्ता गरेर राखे पछि घर र्फकन बाध्य भएको उल्लेख गरेको छ ।

नाइजेरिया फुटबल महासंघले टोलीको चार्टर उडान बेनगाजीमा अवतरण गर्ने तालिका रहेपनि डाइभर्ट गरेर अब्राक अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिएको र वैकल्पिक यातायातको व्यवस्था नगरेको आरोप लगाएको छ ।

लिबिया फुटबल महासंघले घटना जानाजानी नभएको बताउँदै यस विषयमा समजदारी अपनाउन नाइजेरियालाई आग्रह गरेको थियो । गत हप्ता लिबियाको टोली नाइजेरिया यात्रामा रहँदा उनीहरुलेपनि कठिनाइहरूको सामना गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.