[अपडेट] डडेलधुराको अमरगढीमा बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुग्यो

घाइते १२ मध्ये ३ जनाको अवस्था गम्भीर
आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
[अपडेट] डडेलधुराको अमरगढीमा बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुग्यो

डडेलधुरा । डडेलधुरामा रात्रिबस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । घटनास्थलमा आज बिहान थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो । बैतडीको पुर्चौडी नगरपालिका-१० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभयो ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस गएराति साढे १२ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो ।

दुर्घटनामा तीन महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमै मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमती बोहरा, सोही ठाउँकी अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुई दिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा छन् । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

घाइते हुनेमा पुर्चौंडी नगरपालिका–७ का २ नवराज साउद, वडा-६ का राजेन्द्र साउद, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का दिनेश साउद, डडेलधुराको आलिताल गाउँपालिका–१ का मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका–५ की विमला महता, कृष्णपुर नगरपालिका–५ की धनमती साउद छन् ।

यस्तै, पुर्चौंडी–८ का पदमबहादुर बोहरा, सोही ठाउँका बस चालक वीरेन्द्र बोहरा, वडा-७ का नवराज रतौकी, सुरेन्द्र रतौकी, वडा - १० का दामोदर महरा र धनबहादुर महरा पनि घाइते भएको प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो । गम्भीर घाइते बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । बस सडकबाट २ सय ५० मिटर तल खसेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.