काठमाडौं । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टर नियुक्त गरेको छ ।
हज २००७ को एक दिवसीय विश्वकप विजेता अस्ट्रेलियन टोलीका सदस्य थिए । सुदूरपश्चिमले आज विज्ञप्ति जारी गर्दै हजसँगको सहकार्यबारे जानकारी गराएको हो ।
हजले, अस्ट्रेलियाका लागि २५ ओडीआई खेल्दै ५ सय ७५ रन बनाएका थिए । यस्तै, उनले १५ टी-ट्वेन्टी आई र ६ टेस्ट पनि खेलेका छन् । स्पिन बलिङ गर्ने हजसँग इन्डियन प्रिमियर लिग आईपीएल टोली कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबाट खेलेको अनुभव पनि छ ।
सुदूरपश्चिमका ओनर स्वतन्त्रप्रताप शाहले, ४९ वर्षीय हजलाई मेन्टरका रुपमा पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका छन् । दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमले जगत टमाटालाई यसअघि नै मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । एनपीएल आगामी मंसिर ६ गतेदेखि सुरु हुँदैछ ।