विश्व कराते च्याम्पियनसिपमा भाग लिन जाने नेपाली कराते टोलीको बिदाइ

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
विश्व कराते च्याम्पियनसिपमा भाग लिन जाने नेपाली कराते टोलीको बिदाइ

काठमाडौं । इटालीमा आयोजना हुने विश्व कराते च्याम्पियनसिपमा भाग लिन जाने नेपाली कराते टोलीलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र कराते महासंघका अध्यक्ष युवराज लामासहित पदाधिकारीले बिदाइ गरेका छन् ।

अक्टोबर ९ देखि १३ तारिखसम्म इटालीको भेनिसमा हुने च्याम्पियनसिपमा एरिका गुरुङ नेपालबाट अन्डर ट्वेन्टीवान उमेर समुहमा सहभागिता जनाउने छिन् । प्रशिक्षक कुशल श्रेष्ठसहित ४ जनाको टोली भोलि इटाली प्रस्थान गर्नेछ । एरिकाले पहिलो खेल ९ तारिखमा ६८ केजीमा खेल्ने भए पनि विपक्षी खेलाडीको टुंगो लाग्न बाँकी छ।

एक सय १३ देशको सहभागिता रहेको विश्व कराते च्याम्पियनसिपमा १ हजार ९ सय ९५ खेलाडी सहभाी छन् । चाइनाको हाङ्चोउमा भएको एसियाडमा एरिकाले नेपालका लागि रजत पदक हात पारेकी थिइन् भने एक महिना अघि हाङ्चोउमै भएको एसियन कराते च्याम्पियनसिपमा पनि एरिकाले रजत जितेकी थिइन् । विश्व कराते च्याम्पियनसिपमा अघिल्ला प्रतियोगितामा भएको कमजोरी सुधार गर्दै पदककै लागि खेल्ने उनले बताइन्।

बिदाइ कार्यक्रममा एरिकालाई शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले यो आर्थिक वर्षभित्र एरिका गुरुङ र उनका प्रशिक्षक कुशल श्रेष्ठको सम्पूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रशिक्षणको खर्च राष्ट्रिय खेलकुद परिषद्ले बेहोर्ने बताउनुभयो । विश्व कराते च्याम्पियसिपबाट फर्कने बित्तिकै एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई नेपाल कराते महासंघले प्रशिक्षणका लागि जापान पठाउने तयारी गरेको कराते महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.