काठमाडौं । एसिया रग्बी सेभेन्स ट्रफीअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली सिनियर पुरुष टोली उज्वेकिस्तानसँग पराजित भएको छ । दशरथ रंगशालामा आजदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली नेपाल उज्वेकिस्तानसँग २४-० ले पराजित भएको हो ।
कुल १४ मिनेटको खेलभरि नेपालले एक ट्राइसमेत गर्न सकेन । खेलको पाँचौ मिनेटमा नेपालका गणेश बानियाँले पाएको पहेंलो कार्ड छैटौं मिनेटमा फिर्ता भएको थियो । खेल अवधिभर उज्वेकिस्तानले घरेलु टोलीलाई निरन्तर दबाबमा राख्यो ।
पहिलो हाफमा ज्याक होनगिरको ट्राइबाट पाँच अंकको अग्रता बनाएको उज्वेकिस्तानले दोस्रो हाफमा थप १९ अंक जोड्यो ।
उज्वेकिस्तानका लागि ४ खेलाडीले ट्राइ गर्दा दुई पटक कन्भर्जन किकमा सफलता हात पार्यो । नेपालले घरेलु मैदानको फाइदा उठाउन नसक्दा २४-० को फराकिलो हार बेहोर्यो । नेपालले दोस्रो खेलमा आजै बहराइनको सामना गर्नेछ ।