काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिगमा सहभागी बन्ने फ्रेन्चाइज क्लबका मालिक सार्वजनिक गरेको छ।
क्यानले यसअघि बिडिङ प्रकृयामा सहभागी ९ टिमहरुबाट छानिएका ८ टिमका मालिक आज सार्वजनिक गरेको हो।
सर्वाधिक तीन करोड ३३ लाखमा बिक्री भएको टिम काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको हो। यसैगरी पोखरा टिम मालिक नेपाल टी-ट्वेन्टी प्रालि रहेको छ। यस्तै चितवन राइनोजलाई भने चितवन मेडिकल कलेजले जितेको थियो।
टिमको बोलकबोलमा कर्णाली याक्सलाई हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिले पाएको थियो। जनकपुर बेल्ट्सको आधिकारिक संस्थाको रुपमा ड्रिम्स स्पोट्स प्रालि रहेको छ। लुम्बिनीकोको मालिकको रुपमा फर्चुना हेल्थ केयर रहेको छ भने विराटनगर किंग्सलाई एम ए डी कम्पनीले आफ्नो नाममा गरेको छ।
त्यसैगरी सुदूरपश्चिम रोयल्सलाई अब एम्पायर स्पोट्सले सम्हाल्ने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ। आजै बिहान काठमाडौंले आफ्नो लोगो सार्वजनिक गरेको थियो। कर्णालीले भने हिजो नै लोगो सार्वजनिक गरेर ज्ञानेन्द्र मल्ललाई कप्तानसमेत घोषाणा गरिसकेको छ।
मंसिर १५ देखि पुष ६ गतेसम्म २१ दिन सञ्चालन हुने लिगमा कुल ३२ खेल हुनेछन्। पहिलो संस्करणको नेपाल प्रिमियर लिगको अक्सन यही असोज २० गते हुने क्यानले यसअघि नै जानकारी दिइसकेको छ।