काठमाडौं । आज घण्टाकर्ण अर्थात् गठामगः पर्व ।
असारमा रोपाइँ सकिएलगतै नेवार समुदायले भूतपिशाच, रोगव्याधी नलागोस् भन्ने कामना गर्दै घण्टाकर्ण पर्व मनाउने चलन छ । तर, बाक्लो सहरीकरणले कृषियोग्य जमिन घट्दा जात्राका लागि आवश्यक सामग्री पनि अभाव हुन थालेको छ ।
हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले घण्टाकर्ण पर्व मनाउने परम्परा छ। यसदिन उपत्यकाका दोबाटो र चौबाटोहरुमा हरियो नर्कट, निगालो, छ्वाली र परालले घण्टाकर्ण आकृति बनाएर प्रदर्शन गरिन्छ । यसलाई नेवारी भाषामा गठामगः भनिन्छ ।
हाँडीको टाउको, कानमा घण्टा र नाङ्लोमा मुखाकृति चित्रण गरिएको घण्टाकर्ण बनाइ साँझपख बाजागाजाका साथ छ्वालीकै चिराग अर्थात् राँको बालेर खोलापारी अथवा सहरबाट टाढा लगेर सेलाउने प्रचलन छ । घण्टाकर्ण पर्व मनाउँदा भूतप्रेत आदिले छुन नसक्ने र रोगव्याधी नलाग्ने जनविश्वास छ।
त्यसैले यसदिन फलाम वा पित्तलको औंठी घण्टाकर्णलाई छुवाएर लगाउने परम्परा छ भने साना-साना नानीहरुले आफ्ना कपडाका खेलौना र पुतलीहरु गठामगःलाई चढाउने गर्छन् । बालबालिकाहरु घण्टाकर्णलाई जगात दे अर्थात् केही कर दे भन्दै बटुवासँग टोलैपिच्छे रकम माग्छन् ।
किंवदन्तीअनुसार घण्टाकर्ण नामक राक्षसले जनतालाई दुःख दिन थालेपछि एकजना तान्त्रिकको सहयोगमा त्यसलाई समातेर नाश गरेको खुसियालीमा यो पर्व मनाउन थालिएको जनविश्वास छ । साँझपख राँको बालेर घण्टाकर्ण सेलाउन लैजाने क्रममा धानको कलिलो बाला र बोटमा लाग्ने किरा फट्याङ्ग्रा नष्ट हुने भएकाले यो पर्वको वैज्ञानिक महत्वसमेत रहेको संस्कृतिकर्मीहरुको भनाइ छ ।
यो पर्वसँगै काठमाडौं उपत्यकामा सांस्कृतिक जात्रा र पर्वहरु सुरु हुन्छन् । काठमाडौं उपत्याकामा तीव्र रुपमा बसाइँसराइ र बस्ती विस्तारले जमिन खण्डिकरण हुँदा जात्राका लागि चाहिने सामग्रीहरुको भने अभाव हुन थालेको संस्कृतिविद्हरुको भनाइ छ ।