आईसीसी विश्वकप लिग-२ मा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै

क्लिनस्विप हारबाट जोगिन आज जित्नै पर्ने दबाब
आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी विश्वकप लिग-२ मा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै छ । मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ ।

क्यानडा भ्रमणमा दैरान सुरुवाती ३ खेल गुमाइसकेको नेपाललाई क्लिन स्विप हारबाट जोगिन आज जित्नै पर्ने दबाब छ । नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ ।

पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा ओमानविरुद्ध १ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु टोलीविरुद्ध ५ विकेटको हार बेहोरेको थियो । ग्रिन टप पिच र ओभरकास्ट कन्डिसनमा क्यानडासँग टस विजेर पहिला ब्याटिङ गर्ने निर्णय नेपालका लागि गलत सावित भएको थियो ।

घरेलु सिरिजमा गरेको खराब प्रदर्शन र क्यानडा भ्रमणमा पनि सोही गल्ती दोहोर्‍याएपछि लिग २ मा नेपालका लागि चुनौती थपिएको छ । नेपाललाई लिग-२ को शीर्ष ४ मा अटाउन यसै खेल मार्फत पुनरागमन गर्नु पर्ने आवश्यकता छ । किङ्ग सिटीको पिच फास्ट बलरका लागि अनुकूल छ । तर नेपालको फास्ट बलिङर ब्याटिङ चल्न सकेको छैन ।

प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित आज आफ्नो टिमबाट सुधारिएको फास्ट बलिङर ब्याटिङको अपेक्षा गर्ने छन् । दोस्रो खेलमा ओमानविरुद्ध तिन परिवर्तन गरेको नेपालले तस्रो खेलमा सोही टिमलाई निरन्तरता दिएको थियो । तर त्यसले पनि नेपाली टोलीको हारको शृंखला नरोकिएपछि नेपालले आज पनि प्लेइङ ११ मा केही परिवर्तन गर्न सक्छ ।

लिग २ को आफ्नो दोस्रो सिरिज खेलिरहँदा ७ मध्ये केवल १ जित हात पारेको नेपाल २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । ६ खेलमा ५ अंक जोडेको ओमान छैठौं स्थानमा छ । ११ खेलमा १४ अंक जोडेको घरेलु टोली क्यानडा शीर्ष स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement